दल

मनोनयन दर्ताको आज अन्तिम दिन, मकवानपुर काँग्रेसले अझै टुंग्याएन उम्मेदवार

सरिता दाहाल |
बैशाख १२, २०७९ सोमबार ८:४६ बजे

मकवानपुर - स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने समय आज अन्तिम हो । मनोनयन दर्ताको केही घण्टा मात्रै बाँकी रहदासम्म नेपाली काग्रेस मकवानपुरले उम्मेदवार टुङग्याएको छैन ।

लामो कसरतपछि काँग्रेसले गठबन्धनमा पाएको भाग अनुसार गाउँपालिकाहरूको उम्मेदवारहरू टुङ्ग्याएको छ । तर नगरको उपप्रमुख र वडा अध्यक्षहरू टुङ्ग्याउन सकेको छैन । ‘पहिले त गठबन्धनमै मिलाउन समस्या भयो, अनि पार्टीभित्र अर्को समस्या’ एक काँग्रेस नेताले भने, कुनै पनि हालतमा आज त गर्न गर्नेछ गाउँपालिकाको सकियो, अझै मुख्य मुख्य पालिकाको उम्मेदरवार टुङ्गिएको छैन ।

स्थानीय तहको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको अन्तिम दिनमा उम्मेदवारी दर्ता गराउनका लागि नेपाली कांग्रेसले मकवानपुरका गाउँपालिकामा प्रमुख र उपप्रमुखमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । वडा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाउन भने अझै बाँकी रहेको छ । मकवानपुरका एक सय २ वटै वडाहरूमा पनि गठबन्धनबाटनै उम्मेदवार छनोट गर्ने भनिए पनि अहिले सम्म त्यसको टुङ्गो लागिसकेको छैन ।

कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरू टुंग्याएको छ । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिएको छैन ।

कांग्रेसको भागमा परेको मकवानपुरको बकैया गाउँपालिकामा अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुरगढी अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिका अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सीराङ गाउँपालिका अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेती, बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ, ईन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मुख्य चर्चामा रहेको हेटौंडा उपमहानगरको उप मेयरमा भने अझै नाम टुङ्ग्याइएको छैन । यो पदमा काँग्रेसभित्र धेरै विवाद भएको कारण अन्तिम समयमा नाम सार्वजनिक नै नगरी मनोनयन दर्ता गर्ने आन्तरिक तयारी भएको बुझिएको छ । काँग्रेसका महिलाहरुले सिफारिसमा परेका महिलाबाटै उपमेयर पाउनु पर्ने दाबी गरिरहेको बेला पार्टीले यस अधि सिफारिस गरेभन्दा फरक व्यक्ति उम्मेदवारी बनाउन लागेको बुझिएको छ । समय हुँदै नाम सार्वजनिक हुँदा बागी उम्मेदवार उठ्न सक्ने त्रासको कारण नाम सार्वजनिक नगरिएको हो ।

हेटौंडाको मेयरको लागि गठबन्धनमा दाबी गर्दै आएको नेपाली काँग्रेस मकवानपुरले उपमेयर पाएपछि यसअघि पार्टीभित्र उपमेयरको सिफारिसमा परेकाहरू बाहिरिने सम्भावना बढेको छ । सिफारिसभन्दा बाहिरको व्यक्तिलाई पार्टीले कुनै पनि हालतमा उपमेयर नदिन महिलाहरूले माग गर्दै आएका छन् । यस अघि ३ जना महिलाको नाम उपमेयरको लागि सिफारिस भएको छ, त्यही मध्यबाट हुनुपर्छ भन्ने हाम्रो माग अझै जारी छ’ पार्टी सहसचिव इन्दिरा न्यौपानेले भनिन् ।



Author

थप समाचार
x