दल

एकै वडाका एक पदमा कांग्रेसका एकभन्दा बढी उम्मेदवार

सरिता दाहाल |
बैशाख १३, २०७९ मंगलबार ८:४१ बजे

मकवानपुर - सत्तारूढ गठबन्धनमा चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गरेको छ ।

एकातिर गठबन्धनमा गरेको सहमतिमा विवाद भएपछि पार्टीमा तिक्तता बढेको छ भने, र्कोतिर नेताहरूबीच शक्ति देखाउने होड चलेको छ । यो विवाद र तिक्तता उम्मेदवारी दर्तामा छरपस्ट भएको छ । 


पार्टी सभापति बुद्ध लामा र संघीय सभापति दामोदर खनालबीचको विवादका कारण एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गराएर नेताहरूले आफ्नो हैसियत देखाउने प्रयत्न गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर –२, १० र १९ नम्बरमा  दुई/दुई जनालाई वडा अध्यक्षको टिकट दिएपछि यस्तो उम्मेदवार आफै समस्यामा परेका छन् । 

हेटौंडा–२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरेलाई कांग्रेसले टिकट दिएको थियो । महर्जनले एक्लै सुटुक्क उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले भने यसविषयमा छानबिन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका छन् । ‘पार्टीले टिकट दिने उम्मेदवारी दिन नपाउने यो कस्तो विडम्बना हो । पार्टीले छानबिन गर्नुपर्छ । गलत गर्नेलाई हदैसम्मको कारबाही होस्,’, घिमिरेले भने । यही वडामा नेपाली कांग्रेस कै सुदीप राजवाहकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

हेटौंडा–१० मा युवराज लामा र रमेशध्वज कार्कीलाई टिकट दिएपछि विवाद सिर्जना भएको थियो । कार्कीले उम्मेदवारी दर्ता गराउँदा लामा भने गठबन्धनको बैठकमा नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ आउँदै थिए । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन खोज्दा नमिल्ने भएपछि उनी चुपचाप फर्किन बाध्य भए । 

हेटौंडा–१९ मा पार्टी सभापतिले शालिकराम अधिकारीलाई टिकट दिए पनि रामकुमार थापाले आधिकारिक पत्रभन्दै उम्मेदवारी दर्ता गराएका थिए । अधिकारीले निर्वाचन अधिकृतको कार्यालय पुग्दा थापा दलबलसहित वडामा भोट माग्न थालिसकेका थिए ।


Author

थप समाचार
x