दल

मेयर नपाएपछि एकीकृत समाजवादीका जिल्ला अध्यक्षले पार्टी छोडे

सरिता दाहाल |
बैशाख १४, २०७९ बुधबार १५:११ बजे

मकवानपुर - सात्ताधारी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीलाई हेटौंडाको मेयर पद प्राप्त हुँदा समेत आफूले मेयरको टिकट नपाएपछि पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी त्यागेका छन् ।

उनले स्थानीय तहको भागबण्डा गर्न सत्ता गठबन्धन चुकेको आरोप लगाएका छन् । आज हेटौँडामा पत्रकार सम्मेलन गरी अध्यक्ष पोख्रेलले जिल्लास्तरीय गठबन्धन संयन्त्र र टिकट वितरणका विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।


मकवानपुर स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको गृह जिल्ला हो । पोख्रेलले ८ महिनाअघि समाजवादीको नेतृत्व सम्हालेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा उनले हेटौंडा उपमहानगरको मेयर पद दाबी गरेका थिए । लामो रस्सकस्सीपछि अन्तिम समयमा बहालवाला उपमेयर तथा पार्टी उपाध्यक्ष मिनाकुमारी लामाले मेयर टिकट पाएपछि उनी थप रुष्ट भएका थिए ।

पोख्रेल तत्कालीन एमालेमा रहँदा ओली निकट नेता हुन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएपछि उनी विरोध खतिवडासँग नजिकिएर मेयर पदकै आश्वासनमा समाजवादी गएका थिए ।

पोख्रेलसँग पार्टी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन् ।

पोख्रेलले मकवानपुर जिल्लाको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणका काममा लागेकाहरूलाई बाइपास गरेका पनि उल्लेख गरे ।

खतिवडाको व्यक्तिगत इच्छाका कारण पार्टीले गठबन्धनमा अवसर चुकाउन बाध्य भएको गुनासो गरेका पोखरेलले एमालेबाट विद्रोह गरेको ८ महिना नपुग्दै पार्टीभित्र हुर्काउन खोजिएको व्यक्तिवादी प्रवृत्तिको विरुद्धमा आफू रहेको बताए ।

`आजभन्दा ठिक ८ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बिद्रोह गरि सुशासन, पार्टीलाई बिधि र पद्धति संगत ढंगबाट संचालन, पार्टीका नेता कार्यकर्ताको मुल्यांकन, गुटबन्दीको अन्त्य, नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एक व्यक्ति एक पद लगायतका सुन्दर नारा दिएर भएको विद्रोह ८ महिना नपुग्दै त्यस पार्टी भित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजियो` उनले विज्ञप्तिमा भनेका छन् । `व्यक्तिबाद सरकारमा गएको मन्त्री र राजकिय ठाउँमा पाएका अवसरमा पठाईएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रष्टाचारमा लिप्स मनोवृत्ति र दास बनाउने सोच हाबी हुदै पार्टी नभई केही व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा रुपान्तरण गर्ने गलत मनसायलाई टुलु टुलु हेरेर बस्न सकिएन ।`

पोखरेल मकवानपुरका पुराना कम्युनिष्ट नेता हुन् ।  उनले आफू विगत ८ महिना नेकपा एस मकवानपुर जिल्लाको अध्यक्षमा रहदा साथ सहयोग गर्नेहरुलाई धन्यबाद दिदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि बिद्रोहमा निस्केको बताए । 


Author

थप समाचार
x