जीवन चक्र

स्वामी आनन्द देव बनेका भवन भट्टले पहिल्याएको मार्ग

पुष्पराज आचार्य |
साउन १०, २०७८ ११:३८ बजे

काठमाडौँ– ४४ वर्षको उमेर टेकेपछि भवन भट्टले आफूले आफैंलाई चिने, आफैंलाई बुझे र आफ्नो मार्ग पहिल्याए । यसअघि उनी केवल भवन भट्ट थिए, अन्तर्मनलाई चिनेपछि उनी स्वामी आनन्द देव बने ।

जीवनमा महत्वपूर्ण छ, आफूले आफूलाई चिन्नु । यसका अनिश्चितता र आकस्मिकतालाई बुझ्नु । सबैभन्दा महत्वपूर्ण छ– चेतनशील बन्नु, विवेकको उपयोग गर्नु, आनन्दित, संयमित र उर्जाशील रहनु । जीवनका पहेलीहरू आफैंमा सरल छैनन्,  जीवनका त्यही पहेलीहरूको योग हाम्रो समाज नै हेरौं न कति जटिल छ ।आफैंलाई बुझ्न महत्वपूर्ण छ भन्ने महशुष गरेरै महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको उत्तरार्धतिर लेखेका थिए, 


ADVERTISEMENT

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ।।

भवन भट्टको सन्यासयात्रा ६ महिना अघि जापानको ओशो आश्रमबाट शुरु भएको हो । पछि नेपाल आए, तवोवनमा गए र दीक्षित भए । स्वामी आनन्द अरुणसँग दीक्षा लिएपछि प्रारम्भिक अभ्यासहरू तपोवनमै भयो । सन्यास जीवनमा प्रवेश गरेपछि उनले आफूलाई थप चेतनशील, उर्जावान् र कुनै पनि विषयवस्तुको गहिराइ/गहनतामा पाउँछन् । 

‘प्रायः पहिलेदेखि अध्यात्मसँग आश्रितहरू नै यससँग नजिक हुन्छन् भन्ने मान्यता छ । म आफू बुझेर आध्यात्मिक नभएपनि अवचेतन मनबाटै त्यसबाट निर्देशित थिएँ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘समाजमा व्याप्त नकारात्मकताबाट छुट्कारा पाउन आफैंले ध्यान अघि बढाउँ भन्ने सोच आएको थियो । त्यसरी ध्यान र अध्यात्मको खोजीमा ओशो दर्शनसँग आफू समाहित भएँ ।’

शाश्वत ज्ञान, सत्य र शान्तिको खोजीमा बुद्ध र महावीरले संसारलाई धेरै अघि बाटो देखाएका हुन् । बाटो पहिल्याउन नसकेर अहिलेपनि समाज नकारात्मकता, घमण्ड द्वेष, ईर्ष्या, घृणा, लोभमा रुमल्लिएको छ । यी सांसारिक कुराहरू हुन् भनेपनि यसलाई छाडेर अध्यात्मको संगतमा धेरै कम मानिसहरू पुगेका छन् र अध्यात्मलाई जीवनपद्धति बनाएका छन् । ‘अध्यात्मलाई अँगाल्न सहज छैन, हुन्थ्यो भने द्वापार युगमा समाज अझै आध्यात्मिक थियो, तर त्यही समयमा अहंकार, लोभ र नकारात्मकताले महाभारतको युद्ध भयो,’ उनले अगाडि भने, ‘अहिले त हामी क्षीण–क्षीण अवस्थामा छौं ।’ 

अध्यात्मिक जीवन निकै सुन्दर र आनन्दित रहेको निष्कर्षसहित भट्ट भन्छन्, ‘बहुसंख्यक मानिसले यसलाई आत्मसात गरे भने विश्व शान्ति सम्भव छ ।’ 

ओशोको संगतमा पुगेका कतिपय व्यक्तिहरू आफ्नो ‘स्टारडम’ छोडेर त्यही समाहित भएका छन् । सन्यासी हुने भनेको आफ्नो कर्म नै छाडेर ध्यानमात्र गरेर बस्ने पक्कै होइन । त्यसो त व्यवसायिक क्षेत्रमा भवन भट्टको पनि त्यस्तै स्टारडम छ । जापानमा ३०० भन्दा धेरै रेष्टुराँ छन् । नागोयामा उनले नेतृत्व गर्ने टीबीआई ग्रुपले रिसोर्ट सञ्चालन गरेको छ । जापान, नेपाल लगायत १८ मुलुकमा उनले नेतृत्व गर्ने ७८ कम्पनी छन् । युवा वयमै १८ मुलुकमा विस्तार गरेर झण्डै ३३ करोड डलरको व्यवसायिक साम्राज्य फैलाएका गैरआवासीय नेपाली भट्ट सधैं व्यवसायमा ठूला सपना देखे । आज पनि नेपालमा काठमाडौं–हेटौंडा सुरुङमार्ग, तामाकोसी –३ जलविद्युत् आयोजना, मोनोरेल, एयरलाइन्स, स्मार्ट सिटीका ठूला परियोजना उनका हातमा छन्, तिनलाई कार्यान्वयन गरेरै छाड्ने सपना देख्न छाडेका छैनन् । जीवनमा आधा समय ‘ट्राभल’मा बिताउने उनी व्यस्त थिए । महामारीपछि डेढ वर्षजति उनी जापानमै रोकिए ।

उनले आफ्नै जीवनलाई फर्केर हेरे । गोर्खामा जन्मे, सिद्धार्थ वनस्थली स्कुलमा पढे । भट्टको परिवार सम्पन्न नै भएपनि २१ वर्षको उमेरमा अध्ययनका लागि जापान पुगेर संघर्ष गर्न थाले । रेष्टुराँमा काम गरे, आफैं रेष्टुराँ मालिक बने । जापान गएको डेढ दशकमा उनले जे गरे, त्यो बाहिर बसेर हेर्नेका लागि आश्चर्यपूर्ण थियो । फर्केर समीक्षा गर्दा उनलाई कौतुहलतायुक्त हर्षानुभूति भयो । त्यो समयमा उनले केही चिन्तन गरे, सोचमग्न रहे र ध्यान गर्ने निष्कर्ष निकाले । उनमा अन्तर्निहीत अध्यात्मिकताले धकेलेर उनलाई जापानकै ओशो आश्रममा पुर्‍याएको थियो । त्यहाँ ओशोका प्रवचन सुन्ने, ध्यान प्रक्रिया अनुसरण शुरु गरे । त्यसले उनको जीवनलाई नयाँ मोड दिएको हो । 

‘ओशोले कहिले पनि सबै काम छाडेर यसमै लाग भन्नुभएन । साहित्य, कला, पत्रकारिता, खेल, उद्यम जे सुकै पनि बुझेर, अझै गहिराइमा गएर, त्यसको अन्तर्य महशुष गरेर र आनन्दित भएर कर्म गर्ने कला पनि हो ओशोमार्ग,’ भट्टले कुराकानीका क्रममा सुनाए, ‘ ओशोले म सिकाउन होइन, सजग गराउन/जगाउन आएको हुँ भन्नुभएको छ । हाम्रा इन्द्रियहरू पूर्ण रूपमा जागरूक भएपछि तपाईंले आफूलाई थप उर्जाशील, चेतनशील, विवेक र संयमले भरिपूर्ण पाउनुहुनेछ । त्यो उर्जा, ज्ञान र विवेकलाई आफूले गर्दै आएको काममा अझै लगनशील भएर, बुझेर, खुलेर लगाउन सकिन्छ ।’ 

                                                                                          ००००

धेरैले भवन भट्टलाई सोध्छन्, ‘ओशोमार्गमा लागेर तपाईंले के पाउनुभयो ?’ 

उनी भन्छन्, ‘हिजोको भवन भट्ट र आजको भवन भट्टमा पाँच गुणा सशक्त/मजबुत पाएको छु । धेरै ग्यारेन्टी म गर्न सक्दिनँ तर तपाईं जे काम गरिरहनुभएको छ, अध्यात्ममा लागेर आजको भन्दा दोब्बर चाहीं गर्न सक्नुहुन्छ ।’

कतिपयले सन्यासलाई अनौठो मान्छन् । पछिल्लोपटक जापानबाट नेपाल फर्कने क्रममा फर्स्ट लेडी आरजू राणा र उनका छोरा जयवीर देउवासँग भेट भयो । सन्यासी बनेको थाहा पाएपछि उनले पनि पहिलो प्रश्न त्यही सोधिन्, ‘अलि छिटो भएन र भवनजी ?’ 

जवाफमा भट्टले भने, ‘मैंले त आफूलाई बुझ्न धेरै ढिलो भएको महशुष गरें । बरु जयवीरलाई पनि अहिले पठाउनुहोस्, जीवन बुझ्न ।’ माहौल एकछिन हाँसोमय भयो । अध्यात्ममा लाग्न यही उमेर समूहमा प्रवेश गर्नुपर्छ भन्ने छैन, भट्टको विचारमा हाम्रो हिन्दू समाजले शास्त्र अनुसार ब्रम्हचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम अनि जीवनको उत्तरार्धमा सन्यास आश्रमको चर्चा गरेकाले सोही आधारमा सन्यास जीवनको उत्तरार्धमा मात्र लिने हो भन्ने लख काटिन्छ । 

‘त्यस्तो होइन । सन्यास लिनु भनेको सबै काम/परिवार छाडेर वैरागिने होइन, जीवनको आनन्द लिने तरिका हो ।’ उनले भने । 

दुनियाँमा अधिकांश भौतिकवादी छन् । सबै भोग गरिसकेर जीवनलाई बुझ्ने, अध्यात्ममा लाग्नुपर्छ भन्ने जबर्दस्त सोच पनि समाजमा देखिन्छ । यद्यपि, नेपाललाई अध्यात्मिकताको केन्द्रका रूपमा दुनियाँले चिनेको छ । सन् २०१४ को अन्त्यतिर टर्कीका तत्कालीन प्रधानमन्त्री अहेमत दाभुतोग्लुले ब्रिसबेन सहरमा आयोजित जी२० को बैठकमा जी२० लाई समावेशी बनाउन नेपालजस्ता अध्यात्मको केन्द्र रहेका मुलुकलाई पनि समावेश गर्नुपर्छ भनेका थिए । त्यसो भन्नुको पछाडि अध्यात्मिकतालाई दिएको महत्व प्रतीत हुन्छ ।

                                                                                        ००००

एकातिर उनी व्यवसायमा जम्दै र रम्दै थिए । गैर आवासीय नेपाली संघमा विभिन्न भूमिकामा काम गर्दै अध्यक्ष भए । व्यस्तता त्यस्तै हुने नै भयो । धेरै कुरामा ध्यान दिन पाएनन् । परिवार, साथीभाइ, जमघट सबै ठीकठाक थिए । तर उनी भने कता–कता हराएका थिए । 

जमघट, पार्टी टुट्दैनथ्यो । उनी भएपछि माहौला जमिहाल्ने । कहिलेकाहीं पिउँदा–पिउँदै विहान पाँच बजे घर पुग्थे, कहिलेकाहीं कयौं दिन घर नै नपुगी बाहिर–बाहिरै हुन्थे । 

कतिपयले भट्टको ठट्यौलो स्वभावको जोक पनि सुनाउँछन् । 

एकदिन पिएर साथीसँगै उनको घरमा पुगेका थिए । घरमा पुगेपछि साथीले श्रीमतिलाई चिनाए । उनले अभिवादनकै क्रममा भने, ‘अहो ! खास भाउजू त उहाँ हुनुहुँदो रहेछ । अस्ति पार्टीमा फेरि अर्कैलाई भाउजू भनेर चिनाउनुभएको थियो दाईले ।’ त्यो घटनाले उनका साथीको परिवारमा केही दिन अशान्ति पनि मच्चिएको थियो रे !

उनी गैर आवासीय नेपाली संघको अध्यक्ष छँदै एकदिन गैरआवासीय नेपाली साथीभाइको जमघटकै बीच सिंगापुर पुगेर त्यहाँ उपचार गराइरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने योजना बन्यो । उनीसहित केही सिल्क एयरबाट सिंगापुर जाने भए । त्यसदिन मदिरापान गरेर होहल्ला गरेको भन्दै उनीहरूलाई बोर्डिङ भइसकेपछि सिल्क एयरले पुनः त्रिभुवन विमानस्थलमै उतारिदिएको भनेर समाचार पनि बने । तर सिल्क एयरमा अन्य साथीभाइले होहल्ला गरिदिएकाले जिम्मेवार भएर आफूले अपजस स्वीकार गरेको उनी सुनाउँछन् । 

‘म पिउने मान्छे हुँ । तर विमानमा डिहाइड्रेसन हुने भएकाले प्रायः म कहिले पनि मदिरासेवन गर्दिनँ,’ उनले भने, ‘सिल्क एयरको त्यो घटनामा देखिने र चिनिने अनुहार म भएँ । त्यसमा एउटा कारण मसँगै भएका साथीहरूले अल्कोहल सेवन गरेका थिए ।’ 

उनी आफू अल्कोहलिक नभएपनि संसारका सबैथरी मदिरा चाखेको बताउँछन् । एकपटक चीनमा उनको नेतृत्वमा व्यावसायिक प्रतिनिधिमण्डलमा जादाँ उनले ६० प्रतिशत अल्कोहल हुने पाइच्यू नामक मदिरा पिउनमा चिनियाँहरूसँग प्रतिस्पर्धा गरेर उनीहरूलाई हराएका थिए । 

पहिले पिएर विहान पाँच बजेतिर घर पुग्दा परिवारको अनुहारको पीडा बुझ्न नसकेपनि अहिले पाँच बजे उठेर ध्यान गर्दा परिवारको अनुहारमा देखिने चमकलाई उनले राम्रोसँग बुझेका छन् । उनले मदिरा छाडे, जीवनमै पहिलोपटक शाकाहारी भए । ओशो मार्गमा लागेरै छाड्नुपरेको होइन । ओशोमा यस्तो रोकावट पनि छैन । आफ्नै विवेकले उनले मांस-मदिरा त्यागेका हुन् । 

कतिपय साथीहरूले उनलाई अत्याएका थिए । मांस–मदिरा छोडेपछि साथीभाइ गुमाइन्छ भनेर धम्क्याएका पनि थिए । तर अहिले धेरैले उनलाई स्वागत गर्छन् । मांस–मदिरा छाडेर पनि उनका साथीभाइ घटेका छैनन्, बरु बढेका छन् । सम्बन्धको घनिष्ठता अझै बढेको, उन्नत भएको महशुष गर्छन् उनी । उनलाई मदिराको नशामा जीवनको सबै आनन्द त्यही हो कि जस्तो पनि लाग्थ्यो, तर त्यो भन्दा पनि सयौं गुणा आनन्दमय जीवन ध्यानमा भेट्छन् । 

बिहान उठेर डायनामिक योगा गर्छन् । दिउँसो विभिन्न चक्रका ध्यान हुँदै साँझमा कुण्डलिनी, सेलिब्रेसनका अनेक तरिका छन् । डायनामिक योगा गर्दा एक्लै कराए जस्तो आवाज निकालेर गरिन्छ । सेलिब्रेसनका प्रक्रिमा एक्लै पागल झैं नाच्दा उनकी जापानी श्रीमति अनि ९ वर्ष र ६ वर्षका दुई छोरीले अनौठो मानेका थिए, सँगै असुरक्षा पनि महशुष गरेको सुनाउँदै उनी भन्छन्, ‘जापानीहरू धर्मभीरूलाई टाढै राख्छन् । मैंले श्रीमतिलाई सम्झाएँ । म धार्मिक बनेको होइन, यो अध्यात्मिक जीवनपद्धति हो भनेर ।’ अहिले यो नै उनको जीवनपद्धति बनेको छ । नेपालमा भएको बेला बारबार तपोवन गैरहन्छन् ।

३०० रेष्टुराँका तीन सय बार, कार्यालय, घर, साथीभाइका घर तथा कार्यालयका मदिरा बारले घेरिएका उनले अब कम्तीमा घरमा र कार्यालयमा मदिरा बारलाई पुस्तक र्‍याकले प्रतिस्थापन गरेका छन् ।

                                                                                               ००००

जब स्वामी आनन्द देव बने, तब थप उर्जा, लगनशीलता, गहनता थपिएको छ उनको जीवनमा । कताकति छुट्टै जीवन जीउँदैछु जस्तो लाग्ने अनुभव बाँड्दै गफिने क्रममा कतिपय अनुभूति, कतिपय आदर्श, कतिपय भावनात्मकताको मिश्रण उनमा भेटिन्थ्यो । 

‘जीवनका हरेक पलहरू सिकाई हुन् । जीवन भनेको लाखौं वर्ष पुरानो मानव सभ्यतासँग जोडिएको इतिहास हो । त्यसमा ५०–१०० वर्ष भनेको लामो अवधि होइन । त्यहाँभित्र कति भरपूर आफूलाई प्रयोग गर्ने ?,’ उनले भने,  ‘ओशोले तपाईं ठूलो उद्योगी बन्नुस् या सन्त, महासन्त, कवि, लेखक, खेलाडी, उद्यमी बन्नुस् भन्नुभएको छैन । जे बन्नुहुन्छ, त्यी चीजहरू आफूले बुझेर, लागेर उर्जावान् बनेर, गहनतापूर्वक पुगेर गर्नुस् भन्ने हो ।’

शरिरलाई बाह्य आवरणमा सुन्दर देखाउन मानिसले कति यत्न गरेजस्तै मनलाई ‘इनर्जाइज’ (सक्रिय बनाउने/जोस भर्ने) गर्ने अभ्यास हो, आध्यात्मिक चिन्तन, ध्यान र योगा । 

‘व्यवसायको विस्तारको त्यो भोकमा दौडिरहेको म त्यो बाह्य संसारको पछ्याइभन्दा कयौं गुणा ठूलो यात्रा रहेछ भन्ने महशुष भयो । त्यसबाट प्राप्त हुने आनन्द, त्यसबाट महशुष गर्ने चीजहरू अनन्त छन्,’ भट्टले सुनाए, ‘हिजो पनि म खप्तड बाबाको ‘विचार विज्ञान’ पुस्तक पढ्थें । थोरबहुत आध्यात्मिकताबाट निर्देशित थिएँ जस्तो लाग्छ । तर आज आफैंले अनुभव गरेर आफैंलाई त्यो रूपमा उतार्दा साँच्चिकै नयाँ जीवनकै महशुष भयो । हिजोको भवन भट्टभन्दा पाँच गुणा सशक्त अनि चेतनशील भएर आत्मसात गरेको छु ।’ 

                                                                                             ००००

‘व्यवसाय त भौतिकवादमा आधारित हुन्छ, अब यहाँले मन र भावनालाई सुनेर निर्णय लिनुहुन्छ ?’ कुराकानीलाई बिट मार्ने आखिरी प्रश्नमा उनले जवाफ दिए ।  
‘अध्यात्ममा उत्तेजना हुँदैन । संयमता हुन्छ । फरक विचारमा चासो लिने र अरुलाई कन्भिन्स गर्ने क्षमता हुन्छ । म त आफूले यसअघि गर्दै आएका काम अझै बुझेर र थप राम्रो गर्न सक्छु भन्ने महशुष गरिरहेको छु ।’ 

उनले अगाडि भने, ‘व्यवसायमा मन र भावनालाई सुन्ने भनेको मानवजीवन, समाज र प्रकृतिका लागि सहज बनाउने हो । मात्सुहीता कोनोसुके, चर्चित जापानी कम्पनी नेशनल पानासोनिकको संस्थापक अध्यक्ष, उनले सुरुवातमा समाजका लागि उपयोगी मेसिन कसरी बनाउने भन्ने क्रममा वासिङ मेसिनको आविष्कार गरेका थिए । समाजको भलाइका लागि सोचिएको त्यो आविष्कार पनि असल सोचको उपज थियो । उपभोक्तालाई आनन्दित बनाएर, सहजकर्ता बनेर, विश्वस्त बनाएर मात्र व्यवसाय हुन्छ ।’ 

आध्यात्मिक मान्छे चेतनशील हुन्छ । ऊ सधैं आनन्दित हुन्छ । जसले गर्दा नकारात्मकता र खोक्रोपनाले सिर्जना गर्ने फ्रष्ट्रेशन (नैराश्यता), डिप्रेसन (अवसाद)का समाजमा बढ्दो समस्या कम हुने उनले बताए । ‘महामारीपछि दुनियाँभर व्यापार/व्यवसाय, रोजगारी आदि चौपट भएका छन् । विगतमा पनि मानव सभ्यताभित्रै संघर्ष, युद्ध, काटमारले मानिसलाई चिन्ता र दुःख थप्ने काम गरेको थियो । अहिले ०.२ ग्राम बराबर तौलको एउटा भाइरसले मानव सभ्यता नै तहसनहस पार्न खोज्दैछ । यी सबै मानिसकै गलत कर्मका उपज हुन्,’ कुराकानीको बिट मार्दै उनले भने, ‘त्यसकारण हामी प्रत्येकले जीवनको बाटो र गन्तव्य पहिल्याउन ढिला गर्नुहुँदैन । त्यही बाटो पहिल्याउन सक्नु र आफूलाई आनन्दसँग जीउन सक्नु नै अध्यात्मको उत्तम पक्ष हो ।’ 



Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार