राजनीति

विकृति र विसंगतिको अन्त्यका लागि अभियान चलाउन सभामुखको आग्रह

इकागज |
असार २५, २०७९ शनिबार १४:१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै संचालन गर्न युवाहरुलाई आग्रह गरेका छन् ।

हालै सम्पन्‍न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुने गरी अभियाननै संचालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् । शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।


सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्‍ने दृष्टान्त काठमाडौँ, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए । हालै सम्पन्‍न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्‍ने देखाएको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढ्न जरुरी रहेको समेत बताए।

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । उनले शिर ठाडो पारेर बाँच्‍न का लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x