राजनीति

हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

इकागज |
साउन ९, २०७९ सोमबार १७:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितता माथि अनुसन्धान गरी निष्कर्षमा पुग्‍न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हज यात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुका कारण समितिलाई उपलब्ध गराउन पनि आयोगलाई निर्देशन दिएको छ ।


आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षा अनुरुप नभएपनि प्राप्त उपलब्धी जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् । उनले आयोगको रणनीतिक कार्य योजनाले मूर्त रूप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिका लागि नीतिगत, कानुनी सिफारिसमा बढी केन्द्रित भई कार्यसम्पादन गर्न/गराउन पनि आयोगलाई निर्देशन दिइन् ।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रयाप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताएका थिए । उनले आफू सेवा सुविधाका लागि मात्र आयोगमा नभएको भन्दै प्रभावकारी कामका लागि सरकारले स्रोत साधन युक्त बनाउनुपर्ने तर्क गरे ।

बैठकमा समिति सदस्यहरूले मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । 


Author

थप समाचार
x