राजनीति

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

इकागज |
कात्तिक ५, २०७९ शनिबार १२:४७ बजे

फाइल तस्वीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धनमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि उक्त गठबन्धन भएको बताएका हुन् ।    
    
“राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ”, उनले भने। आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत रहेका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे ।

उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए । घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उहाँको भनाइ छ । उनले मस्र्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए ।    



Author

थप समाचार
x