राजनीति

सत्ता स्वार्थले फुटको संघारमा जसपा

फौजदारी कसुरदारलाई छुटाएर सत्ता जोगाउने ओलीको दाउमा पूर्वराजपाको साथ

मधुसुधन भट्टराई |
बैशाख ९, २०७८ बिहीबार १८:१४ बजे

काठमाडौँ : सत्ता सहयात्राका विषयमा जनता समाजवादी पार्टी(जसपा) को विवाद झन बढ्दै जाने भएको छ । गत बैशाख ११ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) मिलेर बनेको जसपाभित्र सरकारमा जाने विषयमा देखिएको दुई धारलाई बल पुग्नेगरी बिहीबार सांसदहरूको भेला गरिएको छ । 

अहिले स्पष्ट रूपमा पूर्वसमाजवादी पार्टीका नेतृत्वकर्ताहरू अहिले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा कुनै पनि हालतमा जान नहुँने बताइरहेको छ । तर, पूर्वराजपा समूह र अहिले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू भने पार्टीबाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीलगायत २०८ नेता कार्यकर्ताका मुद्दा फिर्ता लिने प्रक्रिया प्रधानमन्त्री ओलीले सुरु गरेको भन्दै सरकारमा सहभागी हुने बताइरहेका छन् । 


आज पूर्वराजपा समूहका सांसदहरूसँग पूर्वसमाजवादी पार्टीको समूह सरकारमा नगए पनि जाने कि के गर्ने भन्ने विषयमा अध्यक्ष ठाकुर र नेता महतोले सिंहदरबारमा छलफल गरे । छलफलमा ठाकुर, महतो,  राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सरतसिंह भण्डारी, चन्दा चौधरी, अमृत अग्रहरी, रानी मण्डल र एकवाल अहमद सहभागी थिए । छलफलमा सहभागी सांसद राजकिशोर यादवले पूर्वराजपाका सांसदहरूलाई मात्रै अहिलेसम्म भएका सत्ता समीकरण र मुद्दा फिर्ताबारे जानकारी दिन बोलाइएको बताए । 

‘अध्यक्ष ठाकुरले सत्ता समीकरण र पार्टीका नेता कार्यकर्ताबारे के कुराकानी भइरहेको छ भनेर पूर्वराजपाका सांसदहरूलाई बोलाउनु भएको थियो,’ सांसद यादवले इकागजसँग भने, ‘उहाँले बैठकमा बाहिर देखिएका भ्रम मेटाउने प्रयास गर्नुभयो । सांसद रेशम चौधरीसहित पार्टी नेता कार्यकर्ताबारे रहेका २०८ मुद्दा क्याबिनेटबाट फिर्ता गर्ने आश्वासन दिएको जानकारी दिनुभयो ।’ 

बैठकमा पूर्वसमाजवादी पार्टीका सांसदहरू आउनु भएन भन्ने प्रश्नमा यादवले नआएको बताए । ‘उहाँहरू आउनु भएको थिएन । हामी पूर्वराजपाका सांसदमात्रै थियौं,’ उनले भने । सांसदहरूले भने पार्टीको एकढिक्का धारणा बनाउन अध्यक्ष ठाकुर र महतोलाई सुझाएका छन् । ‘तपाईहरू शीर्ष तहका ५ जनाको बैठक छिटो बोलाउनुस आपसमा छलफल गरेर पार्टीको एउटा लाइन बनाउनुस् भन्ने सुझाव हामीले ठाकुरजीलाई दियौं' उनले भने । 

जसपामा ५ शीर्ष नेताहरू भन्नाले अध्यक्षद्वय यादव र ठाकुर, संघीय परिषद् अध्यक्ष डा. भट्टराई, र वरिष्ठ नेताद्वय अशोक राई र महतोलाई बुझिन्छ । अहिलेसम्म जसपामा यी ५ नेताको मात्रै वरीयता टुंगिएको छ । बैठकमा सांसदहरूले पार्टी एक छैन भन्ने म्यासेज बाहिर गइरहेको छ, खास के भइरहेको छ भन्ने प्रश्न अध्यक्ष ठाकुर र महतोलाई गरेका थिए । तर, ठाकुर र महतोले भने यस विषयमा स्पष्ट जवाफ नदिएको बैठकमा सहभागी सांसदहरूले बताए । 

सांसद यादवले आफूहरूले पार्टीबारे बाहिर आएका हल्लाबारे जिज्ञासा राखेको र नेताहरूले त्यस्तो नभएको बताएको जानकारी दिए । ‘तपाईंहरू यहाँ भएकालाई मात्रै जानकारी दिउँ भनेर बोलाएको हो । अरु त्यस्तो केही छैन भन्नुभयो,’ यादवले भने । 

रौतहटमा रहेका सांसद अनिलकुमार झाले आफूलाई पनि पूर्वराजपाका सांसदहरूको छलफल भएको भनेर जानकारी आएको बताए । ‘पूर्वराजपाका सांसदहरूसँग सत्ता समीकरणबारे छलफल गर्नपर्‍यो भनेर खबर आएको थियो । म रौतहट रहेकाले जान सकिन,’ झाले इकागजसँग भने, ‘तर, यो छलफलमा भएको कुरामा मेरो समर्थन छ । मैले जे निर्णय हुन्छ, त्यसमा मेरो सहमति छ भनेको छु ।’

स्रोतका अनुसार अहिले ठाकुर र महतोले सकभर पार्टी पूरै सरकारमा जाने वातावरण निर्माण गर्ने, नभए पूर्वराजपा र गत बैशाखमा समाजवादी पार्टी फोड्न तयार भएकालाई मिलाएर पार्टी फोड्ने तयारीमा छन् । गत बैशाखमा समाजवादी पार्टी फुट्न लागेपछि दुई पार्टीबीच एकीकरण भएको थियो ।

अहिले त्यसबेला पार्टी फोड्न तयार भएकाहरू ठाकुर र महतोसँग निकट रहेको स्रोतहरू बताउँछन् । त्यसबेला समाजवादी पार्टीका प्रदीप यादव, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, डा. सुरेन्द्र यादव, रेणु यादव, रुही नाज, इस्तियाक राई र कलुदेवी विश्वकर्माले पार्टी फोड्ने तयारी गरेका थिए ।

अहिले रेणु यादव र डा. सुरेन्द्र यादवमात्रै उपेन्द्रतिर रहेको स्रोतहरू बताउँछन् । तर, पूर्वराजपाका महिन्द्र राययादव, शरतसिंह भण्डारी, निर्जला राउत पनि उपेन्द्रलाई मिलाएर लैजानु पर्ने पक्षमा छन् । ३४ सांसद रहेको जसपमामा रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन् । चौधरी पूर्वराजपा र रौनियार पूर्व समाजवादीका सांसद हुन् । 

बाँकी ३२ सांसद यसप्रकार छन् 

पूर्वराजपा 

ठाकुर, महतो, भण्डारी, यादव, अनिलकुमार झा, चन्द्रकान्त चौधरी, महिन्द्र राय यादव, निर्जला राउत, प्रमोद साह, मियाँ, कर्ण, मण्डल, अग्रहरी, नरमाया ढकाल, दुलारीदेवी खेत्वे, चौधरी

पूर्वसमाजवादी पार्टी

डा.भट्टराई, यादव, डा.सूर्यनारायण यादव, रामसहाय यादव, रामबाबु यादव, राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ, लिलादेवी सिटौला, प्रदीप यादव, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, डा. सुरेन्द्र यादव, रेणु यादव, रुही नाज, इस्तियाक राई र कलुदेवी विश्वकर्मा

र यो पनि 

जसपालाई ओलीको बचन स् चार दिनभित्र सबै मुद्दा टुंग्‍याउँछु

 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x