राजनीति

मोरङ-५ मा एमालेका बागी उम्मेदवार मण्डललाई झण्डै दोब्बर मतको अग्रता

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:३५ बजे

विराटनगर- चार वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा मोरङको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा एमाले–जसपा तालमेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका एमालेका प्रदेश कमिटी सदस्य योगेन्द्र मण्डलले सुरुवाती दोब्बर मतको अग्रता बनाएका छन् ।

दिउँसो २ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार २ हजार ९४५ मत गणना सम्पन्न हुँदा मण्डलले १ हजार ५५३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले ५७० मत प्राप्त गरेर निकटतम् प्रतिद्वन्द्वी बनेका छन् ।


अग्रता लिइरहेका मण्डल भने यसअघि नेकपा एमालेबाट टिकट पाउने निश्चित भएर चुनावीमा अभियानमा रहेकै समयमा एमाले–जसपा तालमेल भएको थियो । तालमेलका कारण उक्त क्षेत्र जसपाको भागमा पुगेको थियो । त्यसपछि योगेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियान चलाएका थिए ।

एमाले–जसपा तालमेलबाट उम्मेदवार बनेका जसपाका राजकुमार यादवले २८६ मत पाएर तेस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद मण्डलले ९२ र राप्रपाका रेवतबहादुर थापाले ४१ मत प्राप्त गरेका छन् । 

क्षेत्र नम्बर ५ मा ३१५ मत बदर भएको जनाइएको छ ।

मतगणना जारी छ ।


Author

थप समाचार
x