राजनीति

गीतकार/संगीतकारहरूलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

इकागज |
मंसिर १९, २०७९ सोमबार १९:३६ बजे

काठमाडौँ- नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्य स्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन् । उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताए । त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।


नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गीय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनका निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताए ।

नेता पौडेलले गीतकार तथा संगीतकारहरूले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए। गीतकार, संगीतकारहरूलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पुर्‍याउनुपर्ने बताए ।

उनले पश्चिमा राष्ट्रहरूले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, संगीत पछि परिरहेको बताए । उनले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x