देशका मुख्य शहरहरूमा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ : सरकारले देशका मुख्य शहरहरूमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
'कोभिड-१९ ले भयावह अवस्था निम्तिने खतरालाई मध्यनजर गर्दै १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो' खेलकुदमन्त्री दावा तामाङले इकागजसँग भने । मन्त्री तामाङका अनुसार काठमाडौँ उपत्यकाका प्रजिअहरू एक साता मात्रै निषेधाज्ञा जारी गरे पनि सरकारले त्यसलाई लम्ब्याएर बैशाख मसान्तभर पुर्याएको हो ।
त्यस्तै सरकारले आठ ठाँउमा एक/एक हजार बेड क्षमताका होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । सेन्टर बनाउने जिम्मेवारी नेपाली सेनाले दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले बताए ।
संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।
बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ । यो विषय पनि सीसीएमसीले सिफारिस गरेको थियो ।
अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरूलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ । अन्तरिक हवाई उडान सुचारु राख्ने निर्णय बैठकले गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया