राजनीति

नेता र पत्रकारलाई किन गाली गर्छन् रवि ?

इकागज |
माघ २३, २०७९ सोमबार १२:२७ बजे

काठमाडौँ - सरकारबाट बाहिरिएको झोँकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अराजक अभिव्यक्ति दिँदा विवादमा परेका छन् । उनले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै पहिले केही नेता र पछि पत्रकार तथा सञ्चारमाध्यमलाई तथानाम गाली गरेका थिए ।

उनले सञ्चारमाध्यमको नाम र सम्पादक तथा प्रकाशकको नामै लिएर गाली गरेका हुन् । उनले झण्डै एक घण्टाको समय मिडिया र पत्रकारलाई गाली गर्नमा खर्चिएका थिए । यसले उनलाई विवादमा मात्रै ल्याएको छैन, मूलधारका सञ्चारमाध्यममा रविप्रतिको आशा र धारणाप्रति पनि गम्भीर पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।


विगतमा टेलिभिजन कार्यक्रम प्रस्तोताको भूमिकामा रहेका बेला शीर्ष नेताहरूलाई खुबै गाली गर्थे । उनले विभिन्न उखान टुक्का मिलाएर चर्को स्वरमा चिच्याउँदै टेलिभिजन सेट अगाडि नेताहरूमाथि गाली बर्साउँथे ।

त्यसरी नेताहरूलाई गाली गर्दा उनका दर्शक रमाउँथे । रविप्रति कृतज्ञ हुन्थे । रवि साँचो बोल्ने गरेको भन्दै उनलाई अतिविश्वास गर्ने जमात बढ्दै जाँदा उनी आजको अवस्थामा आएका हुन् ।

रवि सुरुदेखि महत्वाकांक्षा राख्ने व्यक्ति हुन् । उनी सुरुदेखि नै आफू एक तह माथि रहने योजना बुन्छन् । त्यसको सुरुवात उनले सबैभन्दा लामो टेलिभिजन टक शो चलाएर गिनिज बुकमा नाम लेखाए ।

त्यो उनको आम नेपालीभन्दा फरक रहने योजना थियो । त्यसपछि उनी अमेरिका भाँसिए । अमेरिकाबाट फर्किदा सामान्य प्रस्तोताभन्दा फरक देखिन उनले नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्भव भएको त्यो कार्यक्रम पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा असम्भव ठहर भयो । उनी त्यतिबेला प्रचण्डसँग चिढिएर नेपाल टेलिभिजन छाड्दै न्युज ट्वान्टी फोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउन थाले ।

प्रचण्डसँग रिसाएकै झोँकमा उनले नयाँ कार्यक्रम सुरु गरेका थिए । भीआइपी कार्यक्रमबाट अचानक सडकका मान्छेको मुद्दा उठाएर चर्चित बन्न गाह्रो थियो । उनले त्यसलाई चर्चित र लोकप्रिय बनाउन नेताहरूलाई तथानाम गाली गर्दै टिप्पणी बर्साउन थाले । जुन आम सर्वसाधारणलाई मन पर्न गयो ।

अनि रवि लामिछानेप्रतिको क्रेज बढ्दै गयो । नेपालमा अहिले पनि धेरैजसो मानिसहरूमा ‘डबल स्टान्डर्ड’ छ । अर्थात दोहोरो चरित्र राख्ने र समयअनुसार त्यसलाई देखाउने प्रवृत्ति आम नेपालीको चरित्र हो । योभन्दा भिन्न चरित्र निर्माण गर्न उनले दिल खोलेर नेताहरूलाई गाली गर्ने र देशको अवस्थाप्रति तीव्र असन्तोष प्रकट गर्ने व्यक्तिको छवि बनाए ।

देशका नेता, कर्मचारी, प्रशासन, प्रहरी सबैबाट असन्तुष्ट मानिसहरू रविलाई मन पराउन थाले । यसैको बलमा उनले राजनीतिमा होमिने निर्णय लिए । नेताहरूलाई गाली गरेर फरक नेता बन्ने उनको रहरमा रातारात पाएको गृहमन्त्रीको कुर्सी गुमेपछि उनी मिडियाप्रति खनिएका हुन् ।

किनकी उनको नागरिकता प्रकरण सबैभन्दा धेरै उचाल्ने मिडिया थिए । मिडियाले निरन्तर समाचार लेखेकै कारण उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेर फैसला आएको हो । जसकारण उनको पद, प्रतिष्ठा र पावर सबै क्षणभरमै गुम्यो ।

रातारात आर्जन गरेको शक्ति क्षणभरमै गुमेपछि उनी मिडियाप्रति खनिएका देखिन्छन् । त्यसमा फेरि एकपटक कारक बने, प्रधानमन्त्री प्रचण्ड । जसले रविले जति आग्रह गर्दा पनि गृहमन्त्रालय दिन अस्वीकार गरिदिए । 

प्रचण्डको स्वीकारोक्ति नहुँदा सरकारबाट बाहिरिएका रविले आफूविरुद्ध निरन्तर आफ्नो चाहनाविपरितको समाचार प्रकाशन तथा प्रसारण भएपछि मिडिया मालिक र पत्रकारविरुद्ध आगो ओकलेका हुन् ।

धेरै नेपाली अहिले पनि मिडिया सन्तुलित र आम नागरिकप्रति जिम्मेवार हुन नसकेको बुझाई राख्छन् । धेरै मिडियाको हकमा त्यो केही हदसम्म सत्य हो । तर यसलाई बाहिर स्पष्टसँग ठूलो र चर्को स्वर गरेर बोल्ने आँट कसैसँग थिएन । जुन कुरा आइतबार पत्रकार सम्मेलन गरेरै रविले बोले ।

उनको बोली यतिबेला सामाजिक सञ्जालमा वादविवादको विषय बनेको छ । कतिपयले मिडियाबारे उनको बोली सत्य रहेको बताइरहेका छन् । तर कतिपय आफूले सरकार गुमाउँदाको पीडा मिडिया मालिक र पत्रकारमाथि दोष थोपरेको टिप्पणी गरिरहेका छन् ।

यसले उनी वाद, विवादभन्दा माथि चर्चाको पात्र बनेका छन् । भनिन्छ, राजनीतिमा नाम र बदनाम भए पनि गुमनाम हुनु हुँदैन । रवि यतिबेला सत्ताबाट बाहिरिदा झन् बढी चर्चामा रहेका छन् ।

यो उनको धेरैभन्दा धेरै चर्चा र त्यही चर्चाबाट फेरि सामाजिक सञ्जालको शक्ति प्रयोग गरेर आम मानिसहरूको मन जित्ने अस्त्र मात्रै हो । त्यसैले उनी आफूले मन नपराएका हरेकलाई गाली गर्दै हिड्छन् । यो पनि उनको त्यही श्रृंखला हो ।

तर यसपटक उनी सत्ताबाट बाहिरिदा आफूप्रति ठूलो न्याय गरेका छन् । जम्मा २० सिट लिएर उनी सत्ताका लागि हकदार थिएनन् । भागबण्डामा निर्णायक पनि होइनन् । यस्तो अवस्थामा बलियो प्रतिपक्षी भूमिका उनका लागि फिट छ । अनि त्यही प्रतिपक्षीको प्रश्नले उनलाई भोलिका दिनमा शक्तिशाली सत्ता साझेदार र नयाँ शासकका रुपमा उभ्याउन सक्छ । रविको मनैदेखिको महत्वाकांक्षा पनि यही हो ।


Author

थप समाचार
x