राजनीति

नवनिर्वाचित राष्ट्रपतिद्वारा प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष नेपालसँग भेट

इकागज |
फागुन २५, २०७९ बिहीबार २१:५० बजे

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । 

आज राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई धन्यवाद व्यक्त गरेको र प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  


त्यसैगरी राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग भेट गरेका छन् । राष्ट्रपति पौडेलले देउवा निवास धुम्बाराही र नेपाल निवास कोटेश्वर पुगेर भेट गरेका हुन् । 

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका हुन् । आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए । 


Author

थप समाचार
x