राजनीति

तनहुँ-१ उपनिर्वाचन : मतगणना स्थलमा सिसिटिभी जडान

इकागज |
बैशाख ८, २०८० शुक्रबार १७:४८ बजे

फाइल तस्बिर

दमौली- तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणना स्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणना स्थल निर्माण गरेको हो । 

मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणना स्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । 


उनका अनुसार दुई वटा कोठामा मतगणना गरिनेछ । मतगणना स्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ । 'तारजालीसहित मतगणना स्थल तयार गर्दैछौँ, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो । आज बेलुकासम्म तारजाली बारेर गणना स्थल तयार हुन्छ,' उनले भने । 

निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षित रूपमा मतगणना स्थलका लागि गणना स्थल तयार पारिने उनले बताए । 'सबैलाई चित्तबुझ्दो गर्ने गरी भरपर्दो, सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणना स्थल बनाउँछौं,' उनले भने । 

आइतबार मतदान सकिएपछि सुरक्षित रूपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ । मतपेटिका ल्याइसकेपछि राजनीतिक दलसँगको सर्वदलीय बैठकपश्चात् मतगणनाको काम सुरु गरिनेछ । 

तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ढकालका अनुसार प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ । 

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका–५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । 

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदान स्थल र ५० मतदान केन्द्र छन् । त्यस्तै, कम मतदाता देवघाट गाउँपालिकाका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदान स्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदान स्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदान स्थल र २२ मतदान केन्द्र छन् । व्यास नगरपालिका–५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता कायम भएका छन् । व्यासमा २० मतदान स्थल र ४८ मतदान केन्द्र छन् । रासस


Author

थप समाचार
x