राजनीति

रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छ : मन्त्री भुसाल

इकागज |
असार २१, २०८० बिहीबार १४:५८ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्ने गरी मन्त्रालयले प्रस्ताव अघि बढाएको जिकिर गरे । उनले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेकाे बताए । उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए ।


उनले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ । यसमा तपाईँहरूले सहयोग गर्नुपर्नेछ । त्यसमा मान्यज्युहरूको सहयोग चाहिन्छ, छोटो बनाउनका लागि । तदनुरूप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ, हामीले औपचारिक रूपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ । जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ । यो भएमात्रै तदनुरूप मागको आँकलन गरेर बजेट खरिदका लागि सुननिश्चित हुनुपर्छ । खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जिटुजी प्रक्रियाबाट नै जाउँ, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ ।’

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभइ प्राङ्गारिक र जैविक मलमा निर्भर हुने कुरामा जोड दिन आवश्यक रहेको बताए ।


Author

थप समाचार
x