राजनीति

उपराष्ट्रपतिद्वारा एक सय १० फिटको उचाइमा राखिएको झण्डा उद्घाटन

इकागज |
साउन १६, २०८० मंगलबार १७:५७ बजे

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी वडा नम्बर ७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका छन् ।​ मंगलबार महोत्तरीको मटिहानी पुगेका उनले तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन् ।

झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा पर्ने मटिहानीमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए । उनले मटिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति लगाव र सम्मानको प्रदर्शन गर्नमा सफल भएको पनि जिकिर गरे ।


उपराष्ट्रपति यादवले नेपाल बहुधार्मिक, बहुजातीय र बहुक्षेत्रीय देश रहेको भन्दै सम्पूर्ण जनताका साथ सामाजिक न्याय, समानता र सम्मानसँगै हरेक वर्ग र समूहको भलाइका लागि लोकतान्त्रिक पद्धतिअनुसार कानुनी व्यवस्थाहरू गरिएको पनि बताए । उपराष्ट्रपति यादवले नेपाल र भारतको समस्त वैष्णव मठको प्रधान रहेको लक्ष्मीनारायण मठ, नेपालको सबैभन्दा ठूलो राजगुठी र नेपालको प्रथम शिक्षालय राजकीय संस्कृत पाठशाला मटिहानीमा रहेको भन्दै यो पवित्र भूमिमा देशप्रेम, राष्ट्रभक्ति र राष्ट्रियताको एकताको प्रतीक रहेको नेपालको राष्ट्रध्वज स्थापना गर्नु गौरवको विषय भएको समेत उल्लेख गरे ।

उपराष्ट्रपति यादवले तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गरे । उनले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नु परेकाले संवेदनशील भई समस्याको निराकरण गर्नु सरकारको दायित्व भएको पनि बताए ।

उपराष्ट्रपति यादवले सो क्रममा पीरवावा मजारको समेत दर्शन गरेका थिए । हिन्दु सनातन परम्पराका महासन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औं शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा चिनिन्छन् ।


Author

थप समाचार
x