राजनीति

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल

इकागज |
साउन २६, २०८० शुक्रबार १९:१२ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको जिकिर गरे ।

मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरूलाई बाढीले पुर्याएको क्षतिले थप समस्या बनाएको बताए । उनले बाढीले किसानहरूलाई पुर्याएको क्षतिका लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि उल्लेख गरे । मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिँचाइको समस्या देखिएको बताउँदै यसमा सुधारका लागि सिँचाइ मन्त्रालयसँग समन्वय गरी सिँचाइको समस्या समाधान गर्ने बताए ।


उनले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको भनाइ राखे । उनले नेपाल सरकारले खाद्य संकट आउन नदिनका लागि सरकार सचेत रहेको बताए ।

यस्तै ललिता निवास जग्गा प्रकरणमा पार्टीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरूसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने पनि मन्त्री भुसालले जनाए । उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको दाबी गरे । उनले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताए ।

मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनै पनि प्रकारले समस्या नआएको बताए । उनले पार्टीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पार्टीको गतिशिलतामा कमी नआउने बताए । उनले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरू बढेको जिकिर गरे ।

 

 


Author

थप समाचार
x