राजनीति

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो, नैतिकताका आधारमा राजीनामा दिनुस् : सांसद शर्मा

इकागज |
साउन २६, २०८० शुक्रबार २०:५२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो बताएका हुन् । उनले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए ।


सांसद शर्माले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने जिकिर गरे । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर गुन तिरेको बताए । उनले कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने उल्लेख गरे ।

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीलै सत्तामा बसिरहन नैतिकताले नदिने बताए । शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सिआइबीले बिहीबार पक्राउ गरेको थियो । सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए ।


Author

थप समाचार
x