राजनीति

सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल

इकागज |
साउन २९, २०८० सोमबार १७:७ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन् । 

पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे । उनले भने, 'सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेथिति देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।' 


प्रधानमन्त्रीले आफूहरू सही बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताए । उनले आफूहरूको कदमले प्रतिक्रियावादीमा आतङ्क सिर्जना भएको पनि दाबी गरे । 

उनले तीनमहिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने बताए । 'हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशमा आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ,' अध्यक्ष दाहालले भने ।

उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताए । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको मात्रै नभएको उनको धारणा थियो । 

बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरी छाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । बैठकमा बागमती प्रदेश मातहत रहेका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।


Author

थप समाचार
x