राजनीति

मुलुकको विकास लागि विज्ञान प्रविधिको प्रयोग आवश्यक : अध्यक्ष ओली

इकागज |
असोज १, २०८० सोमबार २१:४७ बजे

फाइल तस्बिर ।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका विकास लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।    
    
ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताए । उनले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा राखे ।    
    
अध्यक्ष ओलीले विज्ञान अत्यन्तै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताए। उनले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने बताए।
    
 उनले ज्ञान र शिक्षाको पहिलो थलो हाम्रो मुलुक रहेको भन्दै ज्ञान प्राप्त गर्ने कुरामा बीचमा ‘ब्रेक’ लागेको र अहिले त्यो हटेको धारणा राखे। उनले मुलुकको विकास गर्नका लागि कठिनाइ रहेको उल्लेख गर्दै भने, “कठिनाइ हामीसँग रहेका छन् । हामीले केही गरेका छौँ । तर जहाँसम्म गर्नुपर्ने हो त्यो मात्र नगरेका मात्र हौँ ।”    
    
उनले अध्ययन अनुसन्धानतर्फ ध्यान नदिँदा विकास निर्माण अघि नबढेको भन्दै विज्ञान प्रविधि आवश्यक रहेको भनाइ राखे । उनले भने, “हामी ती पुर्खाका सन्तान हौँ जसको ‘जेनेटिक मेमोरी’ले काम गर्न सक्दछ । हाम्रो जीवनमा हाम्रा वैज्ञानिक पुर्खाको रगत रहेको छ । त्यसले गर्दा हामी छिट्टै जान्न र सिक्न सक्दछौँ ।”    



Author

थप समाचार
x