राजनीति

राजनीति परिवर्तनमा सञ्चार जगतको याेगदान छ : गृहमन्त्री श्रेष्ठ

इकागज |
असोज १५, २०८० सोमबार १९:५८ बजे

मकवानपुर- संघीय सरकार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन तथा राजनीति परिवर्तनका लागि सञ्चार जगतकाे योगदान रहेकाे बताएका छन् । मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘नेपालमा जुन प्रकृतिको राजनीतिक परिवर्तन भयो सो अनुरूप समृद्धि र विकासको क्षेत्रमा जनभावना अनुरूप काम गर्न नसकिएको सत्य हो,’ उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्नु र जनताको जीवनस्तर उकास्नु आजको आवश्यकता हो । सुशासन, समृद्धि, सामाजिक न्याय सरकारकाे मुल मन्त्रको रूपमा रहेको छ ।’


अहिलेको सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने बताउँदै उनले नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्षपछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने तर्क गरे ।

मन्त्री श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावित बनाउने प्रयासहरू भइरहेको दाबी गरे । सरकारले सञ्चालन गरेको सुशासनको अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको उनले बताए । ‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिँदै छ । सुशासन अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रहार भइरहेका छन्,’ उनले भने, ‘सरकार सुशासनको अभियानमा निरन्तर चलिरहन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्ण विराम लाग्नेवालामा छैन ।’

गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचारको निरन्तरता तैं चुप मैँ चुपको यथास्थिति कायम हुन नसक्ने उनले बताए । सरकारले जुनसुकै परिस्थितिमा सुशासन र भ्रष्टाचारविरुद्धकाे अभियानलाई जारी राख्ने उनको भनाइ रहेकाे थियाे । सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटर ब्याज, भुटानी शरणार्थी, सुन तस्करीसम्बन्धी भ्रष्टाचारका विभिन्न घटनाको छानबिन गरिरहेको उनले बताए । 

‘सरकारले सुशासन अन्तर्गत नै मन्त्रीहरूकाे अनावश्यक खर्चको कटौती, अनावश्यक पदक वितरण खारेजी, मिटर ब्याजी समस्यालाई समाधान गर्न समिति बनाइ पीडितहरूलाई न्याय दिने प्रक्रिया, प्रहरी प्रशासन भित्र हुने सरुवा बढुवालगायतमा हुने चलखेललाई शून्य मा झारेको छौं,’ उनले भने ।

सरकारले विशेषतः चार विषयमा जोड दिएकाे भन्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डता कायम राख्न, राजनीतिक परिवर्तनलाई कायम राख्न, मुलुकमा सुशासनको अभियानलाई जारी राख्न र विविधताबीचको एकता, सद्भावलाई कायम राखी सामाजिक एकता र सद्भावमाथि खलल आउन नदिन चुनौती रहेकाे बताए ।

मन्त्री श्रेष्ठले साेमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेकपा माओवादी केन्द्र मकवानपुरको कार्यक्रम, प्रेस सेन्टरको पत्रकार सम्मेलन, मकवानपुरबाट प्रसारित रेडियो सन्देश, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रम, हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ लगायतका आधा दर्जन कार्यक्रममा सहभागी भएका थिए ।


Author

थप समाचार
x