राजनीति

चन्दा उठाएर बनाएको भवन उद्‍घाटन गर्न प्रधानमन्त्री ओली घुन्‍सामा

इकागज |
मंसिर ८, २०७७ सोमबार १३:८ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दलभित्रको कलहबाट केही घण्टा भए पनि टाढा रहन भन्दै उत्तरी सीमाको चिसो सिरेटो लाग्‍ने ताप्लेजुङको घुन्सा पुगेका छन् । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न उनी हिमाली गाउँ पुगेका हुन् । उनी उत्तरी सीमा पुगिरहँदा उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उत्तरी मित्र चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् ।

घुन्सा पुगेका प्रधानमन्त्रीलाई घुन्सावासीले निकै स्वागत गरेको भए पनि त्यहाँ पुग्‍न कैयनले जाँगर चलाएनन् । उक्त फाउन्डेसनले देश विदेशबाट रकम संकलन गरेर भवन निर्माण गरेको र सरकारी फण्डको चाहना अनुरुप नै प्रधानमन्त्रीलाई भ्रमण गराएका हुन । फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले पनि सहयोगमा यस्तो कार्य गरेको बताइन् । उक्त कार्यका लागि प्रधानमन्त्री ओलीसँग नेकपा नेता सुवास नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थिए ।


घुन्सा कञ्चनजंघा हिमालको काखमा अवस्थित बस्ती हो । उक्त हिमाली गाँउको विकासको लागि प्रधानमन्त्रीको भ्रमण आवश्यक रहेको भन्दै निकै पहिलेदेखि प्रधानमन्त्रीलाई त्यहाँ लैजाने पहल भइरहेको थियो । घुन्सा पुगेका प्रधानमन्त्रीलाई त्यहाँको स्थानीयले स्वास्थ्य चौकीको माग गरेका छन् ।

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्‍नेछ । उनले त्यहाँ सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसअघि कात्तिक २६ मा पनि उत्तरी सीममा राखिएको बीओपीको निरीक्षण गर्न प्रधानमन्त्री ओलीले संखुवासभा गएका थिए।
 


Author

थप समाचार
x