राजनीति

ऐन संशोधन गरेर चिकित्सा शास्त्रमा कोटा बढाइन्छ : स्वास्थ्यमन्त्री बस्नेत

इकागज |
मंसिर १०, २०८० आइतबार २१:५१ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर छिट्टै चिकित्सा शास्त्रमा कोटा बढाइने बताएका छन् ।

नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीहरूको चाहना र भविष्यमा हुन सक्ने स्वास्थ्य क्षेत्रको जनशक्ति अभाव हुने अवस्था आउन नदिन ऐनमा तत्काल संशोधन आवश्यक रहेकोमा जोड दिएका हुन् । चिकित्सा शास्त्र अध्ययन गरेका व्यक्तिहरूलाई स्वदेशमै रोजगारी दिने गरी आफूले स्वास्थ्यमा दरबन्दी बढाउन पहल गरिसकेको बताउँदै त्यसको परिणाम चाँडै देखिने दाबी समेत गरे ।


काम गर्ने जाँगर कायम रहेकै बेला उमेर हदका कारण अवकाश प्राप्त गरेका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूले पनि आफ्नो थप सेवा प्रदान गर्न सकून् भन्ने ध्येयले आफूले ३०० बेडभन्दा माथिका अस्पतालहरूमा एमबिबिएसको पठनपाठन गर्न सक्ने निर्णय गरेर क्याबिनेटमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए । एक सयदेखि तीन सय बेडसम्मका अस्पतालमा नर्सिङ र पारामेडिक्स पठाउन सकिने निर्णय गरेकाले त्यसमा नेपाल चिकित्सक संघले सहयोग गर्नुपर्ने मन्त्री बस्नेतले बताए ।

राम्रो काम गर्दागर्दै पनि बदनाम गर्न एक गिरोह पछि लागेको दाबी गर्दै राम्रो काम गर्दा कुनै को पनि डर मान्नु पर्ने अवस्था नरहेकोमा उनकाे जोड थियाे ।

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हुनेखानेका लागि मात्र नभएर हुँदाखानेका लागि पनि स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताए । समिट आयोजक कमिटीका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले स्वास्थ्य सेवामा सबैको पहुँच हुनु पर्ने गरी राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले आयोग ऐन अनुसार सञ्चालन हुने भएकाले ऐन संशाेधन गरेपछि कोटा बढाउन सकिने बताए । वैज्ञानिक कमिटीका संयोजक डा. आशिष श्रेष्ठले समिटमा समावेश गरिएका विषयगत छलफलले स्वास्थ्य सुधारमा उल्लेखनीय भूमिका खेल्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई हस्तान्तरण गरिने र त्यसले नीति निर्माणमा सहयोग पुग्ने बताए । सम्मेलन सोमबार सम्पन्न हुने छ । सम्मेलनमा आइतबार विभिन्न ४ वटा विषयमाथि प्यानल डिस्कसन भएको थियो । सम्मेलनमा स्वास्थ्य क्षेत्रका ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x