राजनीति

जब पराजित वडाध्यक्षका उम्मेदवारले वडा सचिवमाथि हातपात गरे...

इकागज |
मंसिर २१, २०८० बिहीबार १३:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - गत बिहीबार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ का वडा सचिव लक्ष्मी धमलामाथि आक्रमण भयो । कार्यालयमा रहेकै समयमा उनीमाथि हातपात भयो । 

उपभोक्ता समिति गठनबारे वडा कार्यालय कदमवासमा छलफल भइरहेको थियो । गत स्थानीय निर्वाचनमा पराजित माओवादीकातर्फबाट वडाध्यक्षका उम्मेदवार बलराम गिरिको प्रवेश भयो । 


उनी एक्लै आएका थिएनन् । आफ्नो समूहसहित प्रवेश गरेका थिए । वडासचिव लक्ष्मी धमलासहित वडा सदस्य दिलीप गिरी र स्थानीय कांग्रेस नेता खिलराज गिरीमाथी उनले एक्कासी हातपात गरे । 

वडामा उपभोक्ता समिति गठनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठकमा वडासचिव, जनप्रतिनिधि र स्थानीय सहभागी थिए । बैठक चलिरहँदा गिरीसहितको टोली आक्रमणमा उत्रियो । बैठकको माहोल एकैछिन युद्ध मैदान जस्तै भयो ।

बैठकमा सहभागी हुन आएका स्थानीय खिलराज गिरी पनि घाइते भए । उनको  टाउकामा चोट लाग्यो । बैठक चलिरहँदा एक्कासी गुण्डाशैलीमा आक्रमण उत्रेको घाइते गिरी बताउँछन् । ‘टाउकाको पछाडि चोट लागेको छ घुँडाको लिगामेण्ट च्यातिएको जस्तो छ । एक्सरेको रिपोर्ट आउन बाँकी छ, ‘ उनले भने । वडा सदस्य दिलीप गिरी र वडासचिवलाई भने चोट नलागेको उनले जानकारी दिए । कार्यालयको सिसिटिभि फुटेजमा वडासचिवसहित अन्यलाई हातपात गरेर बाहिर लखेटेको देखिन्छ । 

वडाध्यक्ष विमल श्रेष्ठले कार्यालयमा योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन गर्ने विषयमा छालफल भइरहँदा अचानक मानिसहरु आएर आक्रमण गरिएको जानकारी प्राप्‍त भएको बताए । सोही दिन उनी बागमती प्रदेश गएका थिए । आफू नभएको समयमा घटना भएकाले सबै कुरा थाहा नभएको उनको भनाई छ । ‘म भएको भए यो अवस्था नै आउने थिएन,’ उनले भने, यसअघिसम्म मैले सबैलाई मिलाउँदै लगेको थिए ।‘ 

वडामा आउने सबै योजनामा सर्वसम्मत निर्णय गरेर काम गरिरहेको उनको भनाइ छ । सामान्य योजना भएकाले वडा सदस्य र वडासचिवलाई छलफलका लागि जिम्मा दिएको उनले बताए ।

 घाइते खिलराज गिरी र दिलीप गिरीले बलराम गिरीलगायत १० जनाविरुद्ध अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । गिरीसँगै दिपेन्द्र गिरी, देवराज गिरी, विष्णु गिरी, ईश्वर गिरी, बासुदेव भुजेल, कान्छा दमाई, ठूलोकान्छा दमाई, नारायण भूजेल र कृष्ण गिरीविरुद्ध जाहेरी दर्ता गराएका हुन् । 

घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप लागेको बलराम गिरीसँग भने सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले बलराम गिरीलगायतका व्यक्तिहरुविरुद्ध उजुरी परेको जानकारी दिए । 

उनले भने, ‘ उजुरी परेको छ हामीले पक्राउ गर्न प्रहरी परिचालन गरेका छौं । ‘


Author

थप समाचार
x