राजनीति

राज्य व्यवस्था समितिले एनसेल शेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने

इकागज |
मंसिर २२, २०८० शुक्रबार १५:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिदबिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमबार (२५ गते) बैठकमा बोलाएर एनसेलको शेयर खरिदबिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो । त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए ।


समितिले प्रधान सेनापतिलाई आगामी बुधबार (२७ गते) काठमाडौँ-तराई-मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले जानकारी दिए ।

सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रूपमा बसेर विधेयकहरू माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरूलाई नियमित रूपमा बैठकमा उपस्थित हुन आग्रह गरे ।


Author

थप समाचार
x