राजनीति

सांसद अमरेश कुमारको दाबी: गंगा दाहालले व्यापारीसँग पैसा बुझेको प्रमाण छ, जनता र मिडियामा जान्छु

इकागज |
मंसिर २४, २०८० आइतबार ९:४३ बजे

फाइल फोटो

काठमाडौँ - स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालको छोरी तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालमाथि विभिन्न आरोप लगाएका छन् । उनले दाहालले विभिन्न विषयमा व्यापारीहरुसँग पैसा लिने गरेको आरोप लगाएका हुन् । 

कुन व्यापारीसँग कुन कुन विषयमा कति पैसा लिएको भन्ने प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनले बताए । उनले आफूसँग भएका प्रमाणसहित जनता र मिडियामा जाने बताए । 


एनसेलको सेयर खरिदबिक्रीमा दाहालको नाम मुछिएपछि प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिइरहेको समयमा सिंहले यस्तो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गङा दाहालले कुन-कुन व्यापारी सङ कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ सुरक्षित छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।'

यता, प्रधानमन्त्रीको स्वकीय सचिवालयले तथ्य प्रमाणबिना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केही दिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर  दुष्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरेका छन् । 

 

 

 

 


Author

थप समाचार
x