राजनीति

विरोध खतिवडाको टिप्पणी

ओलीको ‘अन्तिम शकुनि जाल’

इकागज |
जेठ २४, २०७८ सोमबार ७:१७ बजे

काठमाडौँ : नाटकीय तवरमा आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको माधवकुमार नेपाल समूहलाई आह्वान पत्र आयो । जुन पत्रलाई नेपाल समूहका नेता विरोध खतिवडाको भाकामा भन्दा ओलीको ‘अन्तिम शकुनि जाल’ हो । ओलीको आह्वान पत्रमा २०७५ जेठ ३ को स्थितिमा फर्कने उल्लेख छ । त्यसमा शर्त चाहिँ ‘आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्‍ने मागसहित सर्वोच्‍च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ ।’

खतिवडा ओलीको भाषा जालझेलको ‘पुलिन्दा’ ठान्छन् । भन्छन्, ‘यो विपक्षी गठबन्धनबाट हामीलाई अलग्याउने खेल हो ।  त्यसपछि माधवकुमार नेपाल-झलनाथ खनालभन्दा अविश्वसनीय मानिस कोही पनि रहेनछ देखाइनेछ । फेरि ओलीसँग मिलेपछि हामीलाई सिध्याइदिए भइहाल्यो ? त्यसपछि न मुद्दा, न पार्टी ? ओलीको यो शकुनि जालमा फँस्‍न कोही जानु हुँदैन ।’ उनी भन्छन्, ‘यो चारैतिरबाट पराजित भए अन्तिम जेठ २०७५ जेठ ३ मा फर्किन तयार छु भन्‍नु नाटकका भाषा हुन् ।'


ओलीले यसरी शर्त राख्नुको बदलामा सजिलै उनले प्रतिनिधि सभा विघटन मुद्दा फिर्ता लिएको खण्डमा यतिविधि नौटंकी गरिरहनुको अर्थ नभएको उल्लेख गर्दै खतिवडाले इकागजसँग भने, ‘अब मन्त्रिपरिषद् बैठक राखी प्रतिनिधि भंग गर्ने निर्णय फिर्ता लिन्छु भनी राष्ट्रपति कहाँ पठाउनु पर्‍यो । त्यसो गर्ने हो भने सर्वोच्‍च अदालतले प्रतिनिधि सभा विघटनका हकमा केही गर्नु नै परेन । प्रधानमन्त्रीको सिफारिस सर्वोच्‍च अदालतमा पठाइदिनुहुन्छ, त्यसपछि सर्वोच्‍च अदालत यसमा अघि बढ्नै पर्दैन ।'

यसो गरेको खण्डमा यो महाव्याधिमा मध्यावधि चुनावको त्रास हट्छ र राजनीतिक संकट पनि कम हुने धारणा खतिवडाको छ । ‘यदि केपी ओली इमान्दार हुन् भने....?’ खतिवडा भन्छन्, ‘प्रधानमन्त्रीले यति मात्रै पठाए हुन्छ, प्रतिनिधि सभा विघटन गर्ने निर्णय गल्ती भएको रहेछ भने हुन्छ ।’

ओलीको आह्वान आएपछि विरोध खतिवडाले इकागजसँग गरेको टिप्पणीका अंश :
‘विपक्षी गठबन्धनमा रहेर सर्वोच्‍च अदालत विचाराधीन मुद्दा हामीले फिर्ता लियौँ भने ओलीले फेरि हामीलाई रिंग्याउन थाल्छन् । हामीले त्यो फिर्ता लिनेबित्तिकै हामी सकिन्छौं । ओली फेरि उस्ताको उस्तै हुन्छन् ? त्यसैले मुद्दा फिर्ता लिने जस्तो घातक अरु केही हुन सक्दैन । मुद्दा फिर्ता लिनु र एकै सासमा सकिने विष सेवन गर्नु बराबर हो । केपी शर्मा ओलीको माखेसाङ्लोमा परिँदैन ।

तपाईँहरूले बुढो घाइते बाघ र लोभीको कथा सुन्‍नु भएकै होला ? घाइते बाघले आक्रामण गरी केही पनि खान र गर्न नसक्ने स्थिति पुगेपछि लोभीलाई सुनको बाला देखाउँछ । म केही गर्दिन आऊँ भन्छ । अनि लिन गएपछि झ्याप्प समातेर बसी-बसी खान्छ । केपी शर्मा ओलीले गर्न खोजेका त्यही हो ।

यो जाझेल, षडयन्त्र, कपट जे-जति शब्द छन्, तिनलाई प्रयोग गर्न कुनै कसर बाँकी नराख्‍ने केपी पतनको अन्तिम विन्दूमा पुगेपछिको अभिव्यक्ति हो । अथवा, यो भेन्टिलेटरमा राखिएको बिरामीले बोलेको शब्द हो, पार्टीका हकमा । नत्र हामी फागुन २३ देखि यही माग राख्दै आएका हौं । हाम्रा अडान पूरा गर्नुको बदला उचाल्ने, पछार्ने, गाली गर्ने मानिसले यतिखेर के त्यस्तो करिस्मा भयो र राति आह्वान गरेका हुन् ?

यतिखेर के त्यस्तो परिवर्तन भएको छ ? त्यसमा माधवकुमार नेपालले माफी मागे कि ? विरोध खतिवडा झुक्यो कि ? यस्ता केही काम भएका छैनन्, उनले हामीलाई ‘झुक्याउन’ ललिपप देखाएका हुन् । पार्टीमा समझदारीका निम्ति हामीले केही बाँकी राखेका थियौं र ? ओली कार्यदलका संयोजक भीम रावललाई अपमानित तरिकाबाट पार्टीबाट निस्काशन गर्ने ? पार्टीलाई समझदारीमा ल्याउन खटेका नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पार्टीबाटै निस्काशन गर्ने ?

यस्ता क्रियाकर्ममा उत्रेका ओलीको यो कसरी समझदारीको प्रयास ठान्‍ने ? यति गरेपछि यिनीहरूलाई झुक्याउन सकिन्छ ? मुद्दा फिर्ता भएपछि आफू यथावत् ठाउँमा फेरि दुःख दिने कपटी योजना हो । यो बेइमानीको पुलिन्दा हो । त्यो आह्वानमा कुनै इमान्दारिता छ र ? केपी शर्मा ओली सबैतिरबाट पराजित... पराजित.... भएपछि झुक्याउन गरिएको जाली काम हो । यसमा कुनै कोही द्विविधमा छैन ।

२०७७ फागुन २३ देखि २०७८ जेठ २३ सम्म उहाँले के गर्नुभयो ? तीन महिनासम्म किन उनले मिलाउन चाहेनन् ? यो तीन महिनामा उनले के-के हर्कत गरे ? हामीलाई ध्वस्त पार्न आफू स्थापित गर्न के-के मात्रै गरेनन् ? के मात्रै गरेनन् ? निस्काशन गर्ने कारबाही गर्ने ? अनि उहाँका भाषणका बोली हेर्नुस् त ? प्रधानमन्त्री जस्तो व्यक्तिले प्रयोग गरेका भाषा र शब्दहरू....?

ओलीले गर्न बाँकी राखेका केही छन् र ? उनले राष्ट्रपति संस्थालाई दुरुपयोग गरेका छन् । संविधानलाई धुजाधुजा बनाएका छन् ? राष्ट्रपति विद्या भण्डारीसँग राति २ बजे फोनबाटै प्रतिनिधि सभा विघटन गरिएको हेर्नोस् ? राति २ बजे प्रतिनिधि सभा भंग गरेको सदर हेर्नोस् ? दुनियाँ यस्तो पनि हुन्छ र ?

हामीलाई कुनै वास्ता छैन, तर ओली राजेन्द्र महतोलाई १० वटा मन्त्रालय दिन्छन् ? जबकि एकीकृत हुँदै आएको माओवादी ओलीले जम्माजम्मी सात वटा मन्त्रालय दिएका थिए । समान हैसियतमा एकता गरेको माओवादीलाई सात मन्त्री दिए, माधवकुमार नेपाललाई दुई वटा मन्त्री दिए । जम्मा १५-१६ सिट भएको राजेन्द्र महतोलाई १० मन्त्रालय दिइएको छ । 

यो भारतीय गुप्तचर सामन्त गोयल भेटेपछि ओलीले भारतको सहयोगमा बाँच्छु भन्‍ने मनोवृत्तिमा आन्तरिक राजनीतिले साथ नदिएपछि यो आह्वान आएको हो । अनि आह्वानमा जनवर्गीय संगठन ‘मूलभूतः’ पुरानै स्थापित हुनेछन् भन्‍ने बुँदा छ । यसमा पुरानै स्थापित हुनेछन् भनिसकेपछि ‘मूलभूतः’ किन जोड्नुपर्‍यो ? जेठ २ भन्दा अगावैका हुनेछन् मात्र किन लेखिएन ? र, किन लेखियो ‘मूलभूतः’ ? त्यो खेल्ने काम हो । त्यसमा समस्या परेमा कार्यदलले निर्णय लिनेछ भनिएको छ, यसमा किन कार्यदल चाहियो ? अनि कार्यदल राखेपछि महिनौ लम्बाई दिने र आफू प्रधानमन्त्री-अध्यक्ष भइरहने खेल हो ।


Author

थप समाचार
x