राजनीति

संस्कृत भाषा ज्ञानको भण्डार हो : शिक्षामन्त्री राई

इकागज |
फागुन १, २०८० मंगलबार २१:१२ बजे

धरान (सुनसरी)- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।

पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान-१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा मन्त्री राईले संस्कृत भाषाको संरक्षणसँगै व्यावहारिक रूपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । उनले अहिले संस्कृत भाषालाई संरक्षण गर्दै यसमा दक्खल राख्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । 


'संस्कृत भाषाको महत्त्व सधैं थियो र रहन्छ । यसमा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ,' मन्त्री राईले भने, 'संस्कृतका ग्रन्थबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौँ ।'

उनले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले यसबाट पूर्वीय दर्शनसँगै विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने बताए । उनले संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए । 

मन्त्री राईले विद्यापीठको प्रांगणमा पूर्वीय विद्धान तथा समाज सुधारक छविलाल पोखरेलको सालिक अनावरण गरेका थिए । उनले पोखरेलले समाजमा पुर्‍याएको योगदानको चर्चा गरे । 

सो अवसरमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले पोखरेल समाज सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै उनको व्यक्तित्वको चर्चा गरे । प्रदेशसभा सदस्य विजयकुमार राई र निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राईले पण्डित पोखरेलले समाजमा पुर्‍याएको योगदानबारे प्रशंसा गरेका थिए । कार्यक्रम भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।


Author

थप समाचार
x