राजनीति

नेकपा विवाद : ‘लाहुरे पछाडि, गुन्टा अगाडि’

आकाश क्षेत्री |
मंसिर ९, २०७७ मंगलबार १७:१६ बजे

लाहुरे भन्नेबित्तिकै धेरैले सम्झेलान्— गुन्टावाल भरियाहरूका अघिअघि हिँड्‍ने चिटिक्क परेको व्यक्ति । 

अब लाहुरेको यात्रा र राजनीतिलाई एउटै भाँडोमा राखेर तुलना गरौँ । लाहुरे अघिअघि हिँडेझैँ राजनीतिमा नेताहरू पनि अघिअघि नै हिँड्छन् । दोस्रो-तेस्रो तहका नेता र कार्यकर्ता नेतृत्वको पछिपछि हिँड्छन्, गुन्टा जस्तै ।


यदि, गुन्टाले लाहुरेलाई उछिनेर पछिपछि लगायो भने के होला ? त्यसरी नै पछिल्ला तहका नेताहरू नेतृत्वको अघिअघि दौडिएको सुहाउला ? सत्तारूढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल आफ्नो पार्टीमा ‘लाहुरेभन्दा गुन्टा अघि दौडिएको’ देख्छन् । 

केन्द्रीय सदस्यसमेत रहेका रिजालले मंसिर ४ गते ट्‍वीट गरे, जहाँ उनले सत्तारूढ पार्टीभित्र देखिएको किचलोमा नेतृत्वको पछाडि हिँड्ने व्यक्ति अगाडि लाग्दा पार्टी एकता खतरामा परेको भन्‍ने धारणा व्यक्त गरेका थिए । 

यसको सुरुवात भयो, २८ कात्तिकको सचिवालय बैठकबाट । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उक्त बैठकमा अर्का अध्यक्ष तथा केपी शर्मा ओलीविरुध्द राजनीतिक प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावमा ओलीमाथि अनेक आरोप लगाइएको थियो । 

अध्यक्ष दाहालले प्रस्ताव प्रस्तुत गरेपश्चात् सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भयो । ३ गते बस्‍ने उक्त बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने भन्‍ने चर्चा राजनीतिक वृत्तमा चल्यो । ओली पक्षका नेता–कार्यकर्ताहरूले दाहालको प्रस्ताव फिर्ता नभए बैठक बस्‍न नसक्ने अभिव्यक्तिसमेत दिए । जसमा सचिवालय सदस्य ईश्वर पोखरेलदेखि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासम्म पर्छन् । 

थापाले कत्तिक २८ गते फेसबुक स्ट्याटस लेख्दै दाहालको प्रस्तावलाई अराजनीतिक ठहर गरे । उक्त प्रस्ताव फिर्ता नभएसम्म प्रधानमन्त्री ओलीले कुनै छलफल नगर्नेसमेत थापाको दाबी थियो । 

‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो, यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन’, सल्लाहकार थापाले लेखेका छन्, ‘यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्‍न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’

तर, निकट नेताहरूले गरेको दाबीको ठीक विपरीत मंसिर ३ दिउँसो बसेको सचिवालय बैठकमा ओली सहभागी भए । यही सन्दर्भलाई प्रस्ट पार्दै केन्द्रीय सदस्य रिजालले नेतृत्वमाथि उठेका प्रश्‍नको जवाफ स्वयं नेतृत्वले दिनुपर्ने बताएका छन् । 

‘आफूमाथि उठेका एक-एक प्रश्नको जवाफ दिने, अस्पष्ट कुरालाई स्पष्ट पार्ने, जे गर्नुछ– कमिटीबाट निर्णय गर्ने र त्यसलाई पालना गरेर अघि बढ्‍ने कुराले मात्रै एकता बचाउँछ’, उनले थपेका छन्, ‘त्यही भएर म भन्ने गर्छु– लाहुरेभन्दा गुन्टा अघि दौडेको सुहाउँदैन, अध्यक्ष केपी ओलीले सचिवालय बैठक सुचारु गरेर सुझबुझ, परिपक्‍वता र जिम्मेवारी देखाउनुभएको छ, अध्यक्षले नै माग राखेर बैठकमा जान्‍न भन्‍न मिल्ने कुरा थिएन र भएन पनि ।’

नेकपा विवादमा लाहुरेभन्दा गुन्टा अगाडि दौडिएको अर्को उदाहरण हो, चितवन घटना । मंसिर ६ गते चितवन पुगेका नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुध्द आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजी गरे ।  केन्द्रमा आन्तरिक किचलो चर्किरहेका बेला राप्ती नगरपालिकाको नगरकमिटी बैककमा पाण्डेविरुध्द नाराबाजी भएको थियो । ती कार्यकर्ताहरूले पाण्डेमाथि पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाएका थिए ।  

आफ्नै कार्यकर्ताले नेताविरुध्द नाराबाजी गरेपछि यो घटनाका बाछिटा केन्द्रसम्म आइपुगे । पाण्डेमाथि दुर्व्यवहार भएकै दिन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घटना निन्दनीय एवं भ्रत्सनायोग्य रहेको प्रस्ट पारे । 

प्रवक्ता श्रेष्ठले आफ्नो ट्‍वीटमा लेखेका छन्, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यवहारको घटना अति निन्दनीय एवं भत्र्सनायोग्य छ, यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन, चेत होस् ।’  

पार्टी प्रवक्ताले सार्वजनिक गरेको अभिव्यक्तिलाई पार्टीको आधिकारिक धारणा मानिन्छ । उक्त अभिव्यक्तिका विषयमा पार्टीको असहमति भए अन्य प्रक्रियामा जानुपर्ने हो । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा श्रेष्ठको विरोधमा उत्रिए । ७ गते बिहान एक ट्विट गर्दै थापाले प्रवक्ता श्रेष्ठविरुध्द गुटगत वक्तव्यबाजी गरेको आरोपसमेत लगाए ।

थापाले लखेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ– गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी !’

थापा नेकपाको प्रचार विभाग उपप्रमुख जिम्मेवारीमा छन् भने प्रवक्ता श्रेष्ठ प्रचार विभागका प्रमुख हुन् । त्यतिमात्र होइन, श्रेष्ठ पार्टी सचिवालय सदस्यसमेत हुन् । पदीय हिसाबले हेर्दा पनि श्रेष्ठ थापाभन्दा माथिल्लो तहका नेता मानिन्छन् । तर पनि थापाले श्रेष्ठविरुध्द घोचपेचपूर्ण शब्द प्रयोग गरेको देखिन्छ ।  

यो त एउटा दृष्टान्त मात्र हो । सत्तारूढ नेकपाभित्र देखिएको हरेक किचलोमा यस्तो ‘गुन्टा’ प्रवृत्ति देखिन्छ । कहिले ओली खेमाका नेता कार्यकर्ताहरूले यो प्रवृत्ति देखाइरहेका हुन्छन् भने कहिले दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका व्यक्तिहरूले यस्तो प्रवृत्ति देखाउँछन् । 

‘गुन्टा’ प्रवृत्ति देखाउने सजिलो माध्यम बनेको छ— सामाजिक सञ्जाल । जहाँ एक खेमाले अर्को खेमालाई अनेक आरोप–प्रत्यारोप लगाएको देखिन्छ । नेकपामा यो प्रवृत्ति किन देखियो त ? 

पार्टीभित्र दण्डहीनताको अवस्था आएपछि यस्तो प्रवृत्ति देखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । ‘नेकपामा अब अनुशासन नै रहेन, जसले जे गरे पनि हुन्छ, वरिष्ठ व्यक्तिविरुध्द गालीगौलाज गरे पनि हुन्छ, हुटिङ गरे पनि हुन्छ’, उनी भन्छन्, ‘व्यापक अराजकताको स्थिति हो यो । यस्तो प्रवृत्तिलाई नेताहरूले नै प्रेरित गरिरहेको देखिन्छ ।’ 


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x