राजनीति

कांग्रेसले लगाएको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्‍यो : गृहमन्त्री लामिछाने

इकागज |
जेठ २, २०८१ बुधबार १६:५१ बजे

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् । 

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलपछि लामिछानेले संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए । 


उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफूमाथि लागेको आरोपको विषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनले बताए । 

लामिछानेले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गरे । 

कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए । एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने विषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।


Author

थप समाचार
x