राजनीति

८२५ शिक्षकले राजनीतिक दलको सदस्‍यता त्याग गरेको शिक्षामन्त्रीको दाबी

इकागज |
असार ४, २०८१ मंगलबार १८:२ बजे

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेसम्म ८२५ शिक्षकहरूले दलीय आबद्धता त्यागेको दाबी गरेकी हुन् ।

उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताइन् । उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने बताइन् । शिक्षामा दलीय राजनीतिकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेण्डा भएको उनले बताइन् । उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुवात भएको उल्लेख गरिन् ।


उनले सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरिन् । उनले  शिक्षा विधेयक कहिलेसम्म आउँछ भन्ने आफूलाई यकिन नभएको बताइन् । सरकारले मौखिक र लिखित रूपमा चाँडै ल्याउन आग्रह गरिसकेको उनको भनाइ छ ।

उनले सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन् । उनले सबैको साथ सहयोग भए मात्रै यो एजेण्डाले सार्थकता पाउनसक्ने बताइन् । शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेसामा मर्का पुर्याइरहने उनको भनाइ छ । उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको बताइन् । उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरिन् ।


Author

थप समाचार
x