राजनीति

कांग्रेस-एमालेको गठबन्धन बन्‍नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा नेपाल

इकागज |
असार १९, २०८१ बुधबार १६:५९ बजे

काठमाडौँ - राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ ।

राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ठूलो तामझाम, आश्वासन र प्रतिबद्धता व्यक्त गर्दै एमाले र माओवादी केन्द्रले गठन गरेको सत्ता गठबन्धनलाई चार महिनामा नै विस्थापित गर्दै नेपाली काँग्रेस र एमालेले नयाँ गठबन्धन निर्माण गर्नुले संघीय धर्म निरपेक्ष गणतन्त्रको असफलतालाई फेरि एकपटक प्रमाणित गरेको निष्कर्ष निकालेको हो । 


साथै राप्रपा नेपालले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको निष्कर्ष निकालेको छ ।

राप्रपा नेपालले नयाँ सत्ता गठबन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा बनेको नभई यो नितान्त सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको जनाएको छ । 

संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैंमा विडम्वनापूर्ण रहेको बताउँदै यो संसदीय  मूल्य र मान्यता  विपरीतको कार्य भएको ठहर राप्रपा नेपालले गरेको छ ।

राप्रपा नेपालले भनेको छ- 'संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको अमूर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहाना मात्र हो । नेपाली काँग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय गरेका छैनन् । केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन पनि सक्दैन । देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।'

 साथै राप्रपा नेपालले अहिलेको अवस्थामा  सतही  संविधान  संशोधन  होइन धर्मनिरपेक्षता, गणतन्त्र  र संघीयताबारे पुनरावलोकन गरि सबै नेपाली अटाउने हिन्दु राष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्व पक्षीय सम्मेलन वा ति विषयमा  जनमत संग्रहको माग गरेको छ ।

संविधान संशोधन चर्चाको निशानामा समावेशी र समानुपातिक मान्यता परेको उल्लेख गर्दै राप्रपा नेपालले विकृतिहरू हटाउनुको सट्टा समानुपातिक प्रणालीलाई विस्थापित गर्नु भनेको सर्वसत्तावादी सोचको परिणाम भएको बताएको छ । 

साथै राप्रपा नेपालले नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरीबन्धु टि स्टेटको ब्रम्हलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाईलहरू अब दबाइने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिइने आशंका बढेको बताएको छ ।


Author

थप समाचार
x