राजनीति

एमालेको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

इकागज |
भदौ १, २०७८ मंगलबार १५:३१ बजे

बुटवल - लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ। एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमनपश्चात् ४ दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो। एमालेले आफूले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।

एमालेले हृदयेश त्रिपाठी समूहका सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही र माओवादी रोजेकी विमला कुमारी खत्री वलीलाई पार्टी विधानविपरीत काम गरेको भन्दै सांसद पदबाट बर्खास्त गरेको छ। सो पत्रअनुसार उनीहरु पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जनाए। सदन सुरु भएलगत्तै उनले समय लिएर बोल्दै सदन चल्न नदिने जानकारी गराएका थिए।


ढकालले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधानविपरीत गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे । ढकालले संसद् अवरोध गर्ने बताए पनि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको र मन्त्रिमण्डल गठनको पत्र पढेर सुनाएका थिए।

विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि बुधबार दिउसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन्। सभामुख पूर्णबहादुर घर्तीले कारबाहीको पत्र सचिवालयले कानुनी प्रक्रिया अनुसार अघि बढाउने बताएका छन्। मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र केही विधेयकहरु पेश गर्ने कार्यसूची थियो।


Author

थप समाचार
x