राजनीति

मुक्त कमलरी मञ्‍चद्वारा मुख्यमन्त्री केसीको ध्यानाकर्षण

इकागज |
भदौ ५, २०७८ शनिबार १९:३२ बजे

बुटवल – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलाई मुक्त कमलरी विकास मञ्चले ध्यानआर्कषण गराएको छ । मुक्त कमलरीहरू पुनः कमलरी बस्न जानुपर्ने अवस्था आएको भन्दै मञ्चले शनिबार मुख्यमन्त्री केसीसमक्ष ध्यानआर्कषण पत्र बुझाएको हो । 

सरकारले दिने सेवा सुविधा र सम्झौता कार्यान्वयन नगर्दा मुक्त भइसकेकाहरू पुनः कमलरी बस्नुपर्ने अवस्था आएको मञ्च प्रतिनिधिहरूको आपत्ति छ । मुख्यमन्त्री केसीलाई मञ्चका अध्यक्ष शान्ति चौधरीले ध्यानाकर्षण पत्र बुझाउँदै लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लाका मुक्तकम्मरीहरूको समस्या समाधान गर्न माग गरिन् ।


शिक्षा निर्देशिका २०६८ अनुसार आफूहरूले कक्षा १२ सम्म पाउँदै आएको छात्रबासमा खाने, बस्ने सुविधा कटौती भएपछि शिक्षालाई निरन्तरता दिनसक्ने अवस्था नरहेको ध्यानआर्कषणपत्रमा उल्लेख छ । सुविधा कटौती भएपछि दाङको लावाजुनी छात्राबास नर्तीमा बसेर स्नातक तह अध्ययरत १० जनालाई बासस्थान र खानाको चिन्ताले सताउन थालेकोमा उनीहरूले आपत्ति जनाएका छन् । यीलगायत मुक्त कमलरीका हक र अधिकारलाई सम्बोधन गर्नसमेत मञ्चले सरकारसँग माग गरेको हो ।

मञ्चले सम्पुर्ण मुक्त कमलरीहरूलाई तत्काल परिचयपत्रको व्यवस्थाका लागि सहजीकरण, मुक्त कमलरीका लागि प्रदान गरिँदै आएको छात्रवृत्ति स्नातकोत्तर तहसम्म व्यवस्था गरी समयानुकूल वृद्धि गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेको छ । ध्यानआर्कषणपत्र बुझ्दै मुख्यमन्त्री केसीले सरकारले मुक्त कम्मरीको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।

उनले कमलरी विद्यार्थीको छात्राबास खर्चको व्यवस्थापन तुरुन्तै गर्ने बताउँदै आवश्यक सहयोगका लागि सरकारले सहजीकरण गर्ने बताए । उक्त अवसरमा दाङबाट निर्वाचित सांसद इन्द्रजीत थारु, बर्दियाबाट निर्वाचित प्रदेश सांसद तिलकराम शर्मा, मुक्त कमलरी विकास मञ्चका कानुनी सल्लाहाकार फकला थारु, प्रवन्धक माधवलाल चौधरीसहित ५ जिल्लाका कमलरी विकास मञ्चका अध्यक्षहरूको सहभागिता थियो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मुक्त कमलरीहरू रहेको मञ्चका प्रवन्धक चौधरीले जनाए ।


Author

थप समाचार
x