राजनीति

राष्ट्रिय महाधिवेशन मंसिरमा गर्ने एमालेको निर्णय

इकागज |
भदौ ८, २०७८ मंगलबार १९:२४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेले केन्द्रीय कमिटी, जिल्ला कमिटी र सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काउने निर्णय गरेको छ । ललितपुरमा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहित बसेको एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्दै यसका लागि पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गराउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनका लागि कार्यदल समेत गठन गरेको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् ।


त्यसैगरी, बैठकले विधान अधिवेशन असोज ४ गतेदेखि देखि ६ गते काठमाडौंमा गर्ने र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन काठमााडौंमा गर्ने उनले बताए । त्यस्तै विधान अधिवेशनका बारेमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक भाद्र २५ र २६ गते र केन्द्रीय कमिटी २७ र २८ गते गरिने प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै, भदौ १६ देखि २० गतेसम्म जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय पनि बैठकले गरिएको छ ।

त्यस्तै स्थायी कमिटी बैठकले पार्टी बिभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । प्रवक्ता ज्ञवालीले विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव नराखिने जानकारी दिए । 

बैठकले सदस्यता नवीकरण गर्दा २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने निर्णय गरेको छ । 


Author

थप समाचार
x