राजनीति

गठबन्धनको सरकार घरको बाघ वनको स्याल हो : केपी शर्मा ओली

इकागज |
भदौ २१, २०७८ सोमबार १७:३२ बजे

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राष्ट्रियताको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै चर्काे आलोचना गरेका छन् । युवासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारलाई टालाटुली बटुली कति राम्री पुतली जस्तो सरकार भएको बताएका हुन् ।  

अहिलेको सरकारले देश बनाउँछु, देशको रक्षा गर्छु, नागरिकको रक्षा गर्छु भन्न नसकेको उनको भनाइ छ ।  ‘देश बनाउँछु भन्न नसक्ने, सार्वभौवसत्ताको रक्षा गर्न नसक्ने, देशको भूभागमा हेलीकोप्टर उँड्दा किन यस्तो भनेर सोध्न पनि नसक्ने ? अनि उहाँहरुले कसरी प्रशंशा पाउने,’ उनले भने, ‘नागरिक मारिँदाखेरी पनि चुइँक्क बोल्न सक्दैनन् । सडकमा त युवाहरु बोल्ने बित्तिकै लाठी लगाउँछन् । यस्तालाई भन्छन् घरको बाघ वनको स्याल । एउटाले भए त बोल्न सकेन भन्न हुन्थ्यो । पाँच–पाँच वटा दल हुँदा पनि बोल्न नसक्ने कस्तो पार्टी होला । धाक धक्कु कमका छैनन् ।’ 


उनले सरकारले संविधानलाई चुनौती दिएर कोही बोल्यो भन्यो कारबाही गर्छु भनेर थर्काउन थालेको पनि बताए । उनले शासन दमनकारी हुन नपाउने पनि बताए ।  
 अहिलेको सरकारमा भएको कसैले विकास शब्द नै उच्चारण गर्न नसकेको उनको आरोप छ । ‘उनीहरुको मुखबाट विकास भनेको सुन्नु भएको छ ? समृद्ध नेपाल, सुखी नेपाली हुँदा झसंग हुन्छन् । उनीहरु मात्रै सुखी हुनुपर्ने ? जनता हुनुपर्छ भन्दा आत्तिने ? पाँच दलका कुनै पनि नेताले समृद्ध नेपाली, सुखी नेपाली उच्चारण गरोस् त,’ ओलीले भने, ‘सर्वेभवन्तु सुखीनँः पनि भन्न सक्दैनन् । त्यहाँ केपी ओली देख्छन् ।’

 


Author

थप समाचार
x