राजनीति

एमालेले आफ्नै कारण गुमायो, संघ र तीन वटा प्रदेश सरकार

प्रदेश १ मा पनि सोमबार छिनोफानो

सन्तोष अधिकारी |
कात्तिक १०, २०७८ बुधवार १७:२४ बजे

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैँले हुर्काएको पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेसँगै एमालेले नेतृत्व गरेको सरकारको अधोगति सुरु भयो । प्रदेश सभा पहिलो निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको एमालेले आजको दिनसम्म आइपुग्दा प्रदेश–१ सरकारबाहेक सबै प्रदेशबाट नेतृत्व गुमाइसकेको छ । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार आज बुधबारमात्रै ढलेको हो ।  प्रदेश–१ मा पनि एमालेको नेतृत्व फुत्किने पक्का जस्तै छ । 

यसअघि एमालेले गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको र लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार गुमाएको थियो । एमालेले पार्टीको आन्तरिक विवादका कारण संघ सरकार, गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकार गुमाएको हो । पार्टीभित्रको विवादका कारण एमालेकै सांसदको मत नपाएको कारण केपी शर्मा ओली २०७८ असार २८ मा प्रधानमन्त्री पदबाट बाहिरिएका थिए   । 


बागमतीमा मुख्यमन्त्री बनेकी शाक्यले आज संसद्लाई सम्बोधन गर्दै भनिन्, ‘नेपालको संविधानको धारा ६९ को उपधारा १ क बमोजिम मैले मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेकी छु ।’ करिब साढे २ महिना सरकारको नेतृत्व गरे गरेकी शाक्य गत भदौ–२ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।  उनी नेपालको पहिलो महिला मुख्यमन्त्री पनि भइन् । एमालेले एमालेकै नेता डोरमणि पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो । 

शाक्य तत्कालीन अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी नेता हुन् । उनले पदको बागर्नेनिङ गरेर डोरमणिलाई पदस्थापन गर्दै मुख्यमन्त्री बनेर वरिष्ठ नेता समूह त्यागेकी हुन् । 

एमालेका संगठन विभाग प्रमुख विष्णु पौडेलले एमाले नेतृत्वको सरकार जोगाउनको लागि संसदीय संख्या नपुगेको बताए । उनले भने, ‘राप्रपा र नेमकिपाले एमालेलाई समर्थन गरेकै छन् । अरु दल गठबन्धनमा छन् हाम्रो संख्या पुगेन ।’  

एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे संसदीय अंक गणितमा कमजोर भएको कारण एमालेले आफ्नो सरकार गुमाउनु परेको स्वीकार्छन् । ‘संख्या नपुगेको हो ।  फ्लोक्रस गर्ने गर्न हुँदैन । संख्या नपुगेपछि मुख्यमन्त्रीहरुले राजीनामा दिनु भएको हो’ उनले भने । उनले मुख्यमन्त्रीका लागि शाक्य योग्य हुँदाहुँदै पनि संख्या नपुगेको कारण पदबाट राजीनामा दिनुपरेको बताए ।  

प्रदेश १ को छिनोफानो सोमबार 

प्रदेश–१ मा पनि एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा छ । आचार्यले प्रतिनिधित्व गर्ने दल नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि उनी अल्पमतमा परेका हुन् । सरकारको नेतृत्व गरेको दल विभाजन भएमा, समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक छ । 

आचार्यले आउँदो सोमबार विश्वासको मत लिँदैछन् । एमालेबाट छुट्टिएर बनेको (नेकपा एकीकृत समाजवादी) लगायत अन्य दलका सांसद्को स्पष्ट बहुमत देखिएकाले आचार्यले पद गुमाउने पक्का जस्तै छ ।केपी ओलीले आचार्यलाई पनि माधवकुमार नेपाल समूहबाट आफ्नो समूहमा भित्र्याउँदै मुख्यमन्त्री पद उपहार दिएका थिए । आचार्यभन्दा अघि ओली समूहकै नेता शेरधन राई प्रदेश–१ मा मुख्यमन्त्री थिए । 

नेकपा (एकीकृत समाजवादी)ले पहिलो मुख्यमन्त्री पाउँदै 

शाक्यको राजीनामासँगै एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीले पहिलो मुख्यमन्त्री पाउने भएको छ । यहाँ एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्दैछन् ।  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x