राजनीति

दोस्रो पटक 'नोट'

प्रतिनिधि सभा विघटनलाई हामीले 'नोट' गरेका छौँ : भारत

राजनीतिक संकट नेपालको आन्तरिक मामिला

चन्द्रशेखर अधिकारी |
पुस ९, २०७७ बिहीबार २३:४२ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटन भएको पाचौँ दिनपछि छिमेकी भारतले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै यसलाई ‘नोट’ (जानकारी) मा लिएको औपचारिक प्रतिक्रिया व्यक्त गरेको छ ।

‘संसद् विघटनलगायतका निर्णयहरू नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक र संवैधानिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै हो,’ भारतको विदेश मन्त्रालयले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ।


नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे भारतको प्रतिक्रिया के छ भन्दै सञ्चारकर्मीको प्रश्नमा श्रीवास्तवले भने, ‘नेपालको राजनीतिक घटनाक्रम र अवस्थालाई हामीले 'नोट' गरेका छौं, हुनत यो नेपालको नितान्त आन्तरिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्ने विश्वास भारतको छ ।’  

नेपालको राजनीतिक गतिविधीमा सधैजसो चासो दिँदै आएको भारतले आफ्नो प्रतिक्रियामा ‘नोट’ मा लिएको बताएको यो दोस्रो पटक हो । नेपालले महाभुकम्पपछि ०७२ असोज ३ मा जारी गरेको संविधानप्रति पनि भारतले यसैगरी  ‘नोट’ मा लिएको थियो । 

प्रवक्ता श्रीवास्तवले निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने पनि बताए ।  

नेपालको राजनीतिक गतिविधीमा सधैजसो चासो दिँदै आएको भारतले आफ्नो प्रतिक्रियामा ‘नोट’ मा लिएको बताएको यो दोस्रो पटक हो । नेपालले महाभुकम्पपछि ०७२ असोज ३ मा जारी गरेको संविधानप्रति पनि भारतले यसैगरी ‘नोट’ मा लिएको थियो । संविधान जारी गर्नु तीन दिनअघि तत्कालिन विदेश सचिव वर्तमान विदेशमन्त्री यस जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौं आएका थिए ।

नेपाल र भारतबीच विदेशमन्त्री स्तरको बैठक दिल्लीमा बस्ने तयारी हुँदै गर्दा यहाँ यस्तो घटनाक्रम विकास भएको हो । यद्यपि, भारतीय गुप्तचर निकाय (रअ) का प्रमुख सामन्तकुमार गोयल भने दुई महिना अघि नेपाल भ्रमणमा आएका थिए । त्यसपछि स्थल प्रधानसेनापति मनोजमुकुन्द नरवणे र विदेश सचिव हर्षवद्धन श्रृगलाको नेपाल भ्रमण भएको थियो । 

कोभिडसँगै नेपाल र भारतको नियमित उडान बन्द थियो । उडान खुलेलगत्तै नेपाल एरअलाइन्सको उडान (पुस २) मा भारतीय राजदूत विनय मोहन क्वात्रा दिल्ली पुगेका थिए । उनी नेपालमा घटनाक्रम विकसित भएको दिन साँझ काठमाडौँ ओर्लेका हुन् ।  

चिनियाँ राजदूत सक्रिय

नेकपाको यसअघि पटक-पटक आन्तरिक विवाद चुलिँदा नियमित सक्रियता देखाएकी हाउ यान्छीले यसपटक भने म‌ंगलबारदेखि भेटघाट थालकी छन् । राजदूतले पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारी र विहिबार नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरिन् । यान्छीले प्रधानमनत्री ओली र दाहाल–नेपालका शिर्ष नेताहरुलाई भेट्ने कार्यक्रम बाँकी नै छ । 

पार्टी औपचारिक विघटनको संघारमा पुगेपनि यान्छीको विगतको जस्तै भेटघाट जारी छ । यद्यपि चिनियाँले यो घेटघाटलाई ‘खोप कूटनीति’ ( भ्याक्सिन डिप्लोम्यासी)  को संज्ञा दिएको छ । नेपाललाई आवश्यक पर्ने खोप चीनले उपलब्ध गराउन उनले भेटघाट गरेको बताइएको छ । तर, यो अवस्थामा भएको भेटघाटमा खोप कूटनीतिको कुरा खासै नहुने परराष्ट्र अधिकारीले बताए ।

चिनियाँ  विज्ञहरूले नेपाल पुरानै दाउपेचको राजनीतिमा फर्केको जनाएका छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संसद् विघटन भएको बुझाई अधिकांश (राजनीतिमा चासो राख्‍ने) को छ । संसद् विघटनपछि सत्तारुढ दल नेकपा दुई चिरा हुँदै यसले बैधानिकता लिने अवस्था छ । दुई गुटको रूपमा रहेका दुवै पक्षसँग हुने भेटघाट आफैँमा अर्थपूर्ण छ ।

भारतको मौनतालाई ओलीको कदममा उसको ‘ग्रिन सिग्नल’ को आशंका गरिँदै आएको अवस्थामा चिनियाँ राजदूत यान्छीको दौडधूपले थप मलजल गरेको कूटनीतिक क्षेत्रका विज्ञहरूले बताए । चिनियाँ  विज्ञहरूले नेपाल पुरानै दाउपेचको राजनीतिमा फर्केको जनाएका छन् ।

भारतीय सञ्चार माध्यम र नेपालबारेमा जानकार तथा बुद्धिजिवीहरूले भने यो प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक’ भन्दै आएका छन् । कतिपयले ओलीको राजनीतिक पतन र संविधानमाथि ‘कू’ को संज्ञा दिएका छन् ।

तर, भारत सरकारले नेपालमा संसद् विघटनको कदम र त्यसपछि सिर्जित राजनीतिक अन्यौलमाथि नोट गरेको बताए पनि खुलस्त टिप्पणी अझै गरेको छैन । त्यस्तै चीन र अन्य शक्तिराष्ट्रले पनि नेपालको पछिल्लो घटनाक्रमबारे धारणा बाहिर ल्याएको छैन । 
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x