राजनीति

एमाले महाधिवेशनमा मत माग्ने नौलो तरिका

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १९:४ बजे

चितवन - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरू मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन् । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरूले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन् ।  

एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो । आउट बन्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको अडियो सुन्न सकिन्छ । भर्चुअल माध्यमबाट तयार गरिएको आफ्नो अडियो सन्देश सम्बन्धित प्रतिनिधिको मोबाइलमा अटो डायल गरी सुनिने व्यवस्थासहित सफ्टवेयर निर्माण भएर ओबीडी प्रयोगमा आएको हो ।


एमाले महाधिवेशनमा सबैभन्दा पहिला लेखा आयोग सदस्य पदका उम्मेदवार कम्युटर इन्जिनियर सञ्जीव रोकाहाले यसको प्रयोग गरेका थिए । उनले एक घन्टी सर्भिसेस प्रालिबाट यो सेवा प्रयोग गरेका हुन् । एक घन्टी सर्भिसेसका प्राविधिक प्रदीप खड्काले योगेश भट्टराई, खगराज अधिकारीलगायत थुप्रै नेताले यो सेवा लिइसकेको न्युज कारखानालाई जानकारी दिए । 

‘यो भर्खर भर्खर सुरु भएको छ । एमालेमा सञ्जीव रोकाहाले फस्ट प्रयोगमा ल्याउनुभयो,’ उनले भने । पहिलोपटक प्रयोग गरेका इन्जिनियर रोकाहाले मतदाताहरुमा सहज ढंगबाट सन्देश पुर्‍याउन यो प्रविधि उपयोगी भएको बताए । ‘सबै प्रतिनिधिलाई व्यक्तिगत रूपमा फोन गर्न सम्भव भएन । त्यसैले सफ्टवेयरबाट एकैपटक सन्देश जाने प्रभावकारी माध्य भएकाले प्रयोग गरे । प्रतिनिधिहरूले यो रुचाउनुभयो । हाम्रो ट्रायलपछि अरु नेता कार्यकर्ताले पनि प्रयोग गरिरहेका छन्,’ उनले भने ।    

प्रतिनिधिहरूका अनुसार महाधिवेशनमा मत माग्न मिसकल एलर्ट, ओबीडी बल्क एसएमएसहरू आइरहेका छन् । उनीहरूको अनुभवमा यसपटक सबैभन्दा बढी सम्भावित उम्मेदवारले धेरैभन्दा धेरै एसएमएस पठाएका छन् । महाधिवेशन प्रचार प्रसार समितिका अनुसार उम्मेदवारहरुले डिजिटल ब्यानर र भिडियो सन्देश पनि प्रवाह गरेका छन् । आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट घोषणा गर्ने क्रम पनि छ । लाइभमा आएर घोषणा गर्ने प्रयोग पनि भइरहेको छ ।


Author

थप समाचार
x