राजनीति

नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्रका लागि अभियान चलाइएकाे छ : भाकपा नेता सिंह

इकागज |
मंसिर ११, २०७८ शनिबार १६:१७ बजे

चितवन - भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताएका छन् । एमालेको १०औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् । 

यस्तै, उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन् । भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको उनले बताए ।  ‘नेपाललाई सन् २०२५ सम्म हिन्दू राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ । भाजपा फाँसीवादतर्फ तीव्र रूपमा अगाडि बढिरहेको छ,’ उनले भने ।


उनले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताए ।  ‘आरएसएसबाट नेपालमा विभिन्न फन्ड चलिरहेको छ । दर्जनौं फन्ड चलेको छ । हिन्दू धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ । सावधान रहनुस्,’ उनले भने ।

दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे । उनले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताए । सो अवसरमा उनले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताए । ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस् । कम्युनिष्ट आन्दोलन एकजुट होस् । कम्युनिष्ट एकता होस्,’ उनले भने ।


Author

थप समाचार
x