राजनीति

टिप्पणी

मिलाउला त चिरा परेको नेकपालाई चीनको विशेष राजनीतिक कार्यदलले ?

चन्द्रशेखर अधिकारी |
पुस १३, २०७७ सोमबार १७:३८ बजे

काठमाडौँ : चिनियाँहरूले सधैं भन्‍ने वाक्य हो, ‘कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने नीति चीनको छैन ।’ तर, यतिबेला नेपालको हकमा चीनको व्यवहार फरक हुँदै गएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउँदै चीनको एक ‘विशेष राजनीतिक कार्यदल’ (स्पेसल पोलिटिकल टास्क फोर्स) नेपालका नेताको घरदैलोमा व्यस्त छ । 

संसद् विघटन र नेकपा विभाजनसँगै नेपाल पुनः अस्थिर र अन्योलता सुरु हुने चीनको बुझाइसँगै नेपालमा पश्‍चिमा प्रभाव बढ्ने चिन्ता पनि उत्तिकै रहेको छिप्दैन । त्यही तथ्य बुझ्‍न चीनले आफ्नो विशेष कार्यदल नै पठाएको हो ।


कार्यदल आइतबार अपराह्न काठमाडौँ  ओर्लेपछि दूतावासमा ब्रिफिङ, त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर आन्तरिक राजनीतिको पनि एउटा दलको अवस्थाबारे छलफल थालेको छ । चीनले यसरी एउटा दलको विषयमा खुलमखुल्ला रूपमा एकताको सन्देशसहित हिँडेको पहिलो पटक भने होइन । तर, यसरी चीनले विशेष राजनीतिक कार्यदलनै खटाएको चाहिँ पहिलो पटक हो ।

नेपालको भू-राजनीतिबारे अर्ध जानकारी राख्‍ने केहीले यहाँ विदेशीको कुनै चासो छैन भन्‍नेलाई यो एउटा गतिलो जवाफ पनि हो । चीनले सत्तारूढ दल नेकपाबाट आफ्नो कम्युनिस्ट पार्टीको प्रशिक्षणमा समेत सामेल गराउन थालेको थियो । प्रशिक्षणसँगै नेपाललाई दक्षिण नियाल्ने ढोकाको रूपमा चीनले उपयोग गर्न खोजेको थियो । त्यसमा ‘ब्रेक’ लाग्‍ने अर्थात् नेपालमा अन्य शक्ति हाबी हुने भएपछि आफ्नैबारे बढी चिन्तित चीन यतिबेला दल मिलाउन कम्मर कसेर लागेको हो ।

कोभिडको समेत प्रवाह नराखी चीन विभाजित नेकपा मिलाउन लागिरहेको छ । कम्युनिस्ट उध्दार कार्यदल नामकरणसहित उनीहरू यहाँ सक्रिय छन् । उनीहरूले नेपाल सरकारको सुरक्षा निकायसँग समेत समन्वय नगरी आफ्नो शैलीमा भेटवार्ता गरिरहेका छन् ।

यस्तै कार्य अन्य मुलुकले गरेको भए फरक अर्थ लगाइन्थ्यो । तर चीनले यो प्रकारको चाल चाल्दा कसैले बोल्ने आँटसमेत नगरेको भन्दै प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘चिनियाँहरूले नेपालको प्रणाली अझै बुझेका छैनन् । अझै उनीहरू अफ्रिकी मुलुक झैँ नेपाललाई सम्झन्छन् ।’

कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने नीति चीनको छैन भन्दै आए पनि यतिबेला नेपालको हकमा चीनको व्यवहार फरक छ ।

चीनबाट आएका गुओ येझाउ नेतृत्वको चार राजनीतिज्ञ र दुई उच्चस्तरीय कर्मचारीसहित ६ सदस्यीय टोलीसँग राजदूत होउ यान्छी पनि सहभागी छिन् । नेपालको तर्फबाट राष्ट्रपति एक्लै र चीनको तर्फबाट उनीहरूको संयुक्त सहभागिताले पनि यो भ्रमणबारे फरक धार दिन्छ । लामै समयदेखि लगातार प्रयासमा एक बनाएको नेकपा पुनः फुटेपछि चिनियाँले यस्तो कदम चालेको हो ।

चीनसम्बन्धी जानकारी राख्‍ने पूर्वप्रधानमन्त्री झलनाथ खनालका कूटनीति सल्लाहकार मिलन तुलाधर पनि चीनले फुटेको भेउसमेत पाएन भने अब फुटिसकेपछि आएर के हुन्छ ? भनी प्रश्‍न गर्छन् ।

उनी भन्छन्, ‘ओलीजीलाई यस्ता कुराहरूले खास अर्थ राख्दैन । उहाँ मुलुक, जनता भनिरहनु हुन्छ, तर आफूलाई फाइदा हुने भए जे पनि गर्न तयार हुनुहुन्छ ।’ आफूलाई स्वयं ‘जेन्टलमेन’ होइन भन्‍ने व्यक्तिको हातमा सरकार छ अनि कसरी राम्रा कुरा आउँछन् भन्दै उनले भने, ‘ओली न चीनका हुन, न भारतका न त नेपाली जनताको ? उहाँ त स्वयं मात्र हो । आफू केन्द्रित र जिद्दी व्यक्ति हो ।’

२०७२ को महाभूकम्पपछि नेपालमा अमेरिकी प्रभाव बढेको चिनियाँ बुझाइले नेपालमा उसको सघन वार्ता र सहकार्य सबै पक्षसँग हुन थालेको छ ।

यस्ता व्यक्तिसँग सहकार्य गरेर दल मिलाउने सपना चीनले पक्कै देखेको छैन । राष्ट्रपति सिको सन्देशसहित टोली नेपाल आएको र म्याराथन भेटघाट गरिरहेको अवस्था नेकपा विदेश विभागमा बसिसकेका शान्त स्वभावका तुलाधरको यो कडा टिप्पणी हो । नेकपा विभाजनको संघारमा पुग्दा पटक-पटक जोगाएको चीनले यसपालि भने विभाजन भएपछि मात्र जानकारी पाएको थियो ।

चीनलाई यहाँको आन्तरिक विकासको चिन्ता होइन नेपालमा राजनीतिक र संवैधानिक अन्योलबीच भारत-अमेरिका अझभन्दा क्‍वाड (भारत, अमेरिका, जापान र अस्ट्रेलिया) को प्रभाव बढ्ला भन्‍ने डर छ । यदि नेपालको चिन्ता थियो त दुई नाकालाई ‘अलवेदर हाइवे’ले जोडेर सहजीकरण गर्न सक्थ्यो । महिनौंसम्म कन्टेनर लाम लागेर तिब्बततिर रहँदैन थिए । हुन पनि २०७२ को महाभूकम्पपछि नेपालमा अमेरिकी प्रभाव बढेको चिनियाँ बुझाइले नेपालमा उसको सघन वार्ता र सहकार्य सबै पक्षसँग हुन थालेको छ ।

यही बुझाइसँगै चीन यहाँ राजनीतिक लडाइँमा जुटेको हो । चिनियाँ राजदूत यान्छीले नेकपा मिलाउन सिको पत्रसमेत मोबाइलमा देखाउँदै हिँडेकी थिइन्, गत वैशाखमा । गत असारमा पनि उनको त्यो शैली उस्तै थियो । यो विभाजनमा भने उनी चुकेको चिनियाँ नेतृत्वको बुझाइ छ । यान्छीको लामो प्रयास बावजुद पनि नेकपा विभाजन भएपछि चीनले औपचारिक धारणा बाहिर नल्याइकन नेपाल सरकारसँग समन्वय बिना नै विशेष टोली यहाँ पठाएको छ ।

चिनियाँ विशेष कार्यदलले नेकपाका सबै शीर्ष नेतृत्वसँग छलफल गरिरहेको छ ।

पूर्वराजदूत सुरेश चालिसेले पनि कम्युनिस्टहरूले यो स्तरको सम्बन्ध राखेपछि मर्दापर्दा या सुखदुःखमा साथ दिन चिनियाँ आएको टिप्पणी गर्छन् । ‘छिमेकमा राजनीतिक स्थिरतासँग गडबडी भएपछि चिनियाँहरूको ध्यान आकर्षित भएको हो’ उनले भने, ‘झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार अस्थिरमात्र भएन दुई चिरा नै भएपछि स्वाभाविक रूपमा चीन जिरिङ्ग भएको छ । यहाँको अस्थिरताले आफू प्रभावित हुन्छु भन्‍ने चीनले बुझेको छ । हुन पनि हजारौं माइल टाढा भएको अमेरिकालाई त चासो छ चीनलाई नहुने कुरै भएन ।’
  
दल चिरा परिसकेको र न्यायालयमा संसद् पुनस्थापना विचाराधीन रहेको अवस्थामा चीनले खुला रूपमा नै राजनीतिक भूमिका खेल्न खोज्‍नुलाई स्वाभाविक भन्‍न नसकिने पूर्वराजदूत डा. दिनेश भट्टराईले बताए । उनका अनुसार नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्न चीन लागिपरेको देखिन्छ । अब धेरै ढिला भइसकेको झै लाग्छ । चिनिया मुखपत्र ग्लोवल टाइम्सले यो चिनियाँ भ्रमणलाई दल मिलाउने प्रयास अनुरुप नभै कोभिड-१९ नियन्त्रणको सहकार्य र सरकारी स्तरको छलफल भनेको छ । के त्यती मात्रैको लागि भ्रमण भएको हो त भन्‍ने प्रश्‍न उठेको उनले बताए । 

नेपालमा राजनीतिक र संवैधानिक अन्योलबीच अर्को छिमेकको साथमा पश्‍चिमा प्रभाव बढ्ला कि भन्‍ने डर चिनियाँमा कताकति रहँदा यो तहको महत्व दिएको हो ।

'गर्भनेन्सको बारेमा किन उनीहरुसँग हामीले छलफल गर्ने? त्यो हाम्रो आन्तरिक विषय हो,' डा‍. भट्टराईले भने,  'हामी जसले जे भन्‍छ त्यहीको पछि लाग्‍नुपर्ने अवस्था छैन ।' संसद् पनि नहुने र नेकपा पनि जुटाउन नसकिने अवस्था रहने हो भने नेपालमा चीनले भने झै कम्युनिस्ट सरकार रहिरहने बुझाइ पनि उनीहरूको हुन सक्छ ।

नेपालमा राजनीतिक र संवैधानिक अन्योलबीच अर्को छिमेकको साथमा पश्‍चिमा प्रभाव बढ्ला कि भन्‍ने डर चिनियाँमा कताकति रहँदा यो तहको महत्व दिएको हो । त्यही कारण भन्‍न सकिन्छ चिनियाँ टोलीको यो भ्रमण सद्‍भाव र चासो व्यक्त गर्ने मात्र होइन, नेकपालाई फेरि जुटाउने जोड नै पहिलो प्राथमिकता हो ।

यदि जुटाउन नसकेको खण्डमा मिलेर सरकारमा रहोस् वा मिलेर चुनावमा जाओस् भन्‍नेसम्मको सुझाव रहन सक्छ । पदभन्दा दल ठूलो भन्दै आएको चीनले यसमा जोड दिए पनि नेपालको नेतृत्वले त्यसलाई अस्वीकार गरे झै मानेको चीन यो फुटबाट विचलित झै देखिन्छ । तर, अब उसको हातमा पनि कुनै जादु भएको देखिदैन । तर, पनि चीनले चिरा परेको दललाई मिलाउने प्रयासभने भरपुर गर्ने नै छ । 

राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्ष दाहाललगायतलाई भेट गरिसकेको टोलीको जोड नेकपा मिलाउनेमा नै केन्द्रित छ । भएका भेटघाटमा चिनियाँ टोलीको प्रस्तुती पनि कम्युनिष्टहरू मिलेर अघि बढ्न पर्छ भन्‍नेमा नै केन्द्रित छ । यस्तो राम्रो सहकार्य किन बिगारेको भन्दै त्यसमा कहाँबाट यस्तो अवरोध आयो भन्दै चीनले चासो देखाएको एक भेटमा सहभागीले जानकारी दिए । 

 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x