राजनीति

कांग्रेस महाधिवेशन

यस्तो बन्यो का‍ंग्रेसको पदाधिकारी टिम

सन्तोष अधिकारी |
पुस २, २०७८ शुक्रबार १८:२२ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नयाँ नेतृत्वको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भए । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा देउवा निर्वाचित भएका हुन् । 

कांग्रेस सभापतिको लागि पहिलो चरणमा देउवा, शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा थिए ।  सोमबार सम्पन्न पहिलो चरणको निर्वाचनमा जम्मा ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मतदात गरेका थिए । यो मध्ये देउवाले २,२५८ मत ल्याए कोइरालाले १,७०२ मत मत प्राप्त गरे । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधि २५० र कल्याण गुरुङ २२ मत प्राप्त गरे । कूल खसेको मतमध्ये ७६ बदर भएको जनाइएको छ । 


दोस्रो चरणमा धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो । दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी हुँदा अर्का उम्मेदवार कोइरालाले पहिलो चरणको मतलाई बढाएर १८५५ मत ल्याए । दोस्रो चरणमा देउवालाई पहिलो चरणमा सभापतिमा पराजित तीनै उम्मेदवारले समर्थन गरेका थिए ।  

शुक्रबार साँझसम्म सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री गरेर १३ पदाधिकारी निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भए ।

कोषाध्यक्ष भने सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई मनोनीत गर्नेछन् । पदाधिकारीमा अधिकांश देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन् । तर, शक्तिशाली मानिने महामन्त्री पदमा भने देउवा समूहका दुवै उम्मेदवार आउन सकेनन् ।  अहिले निर्वाचित १३ पदाधिकारीमध्ये देउवा स्वयम र उपसभापति खड्कामात्रै कांग्रेसको यसअघिको पदाधिकारीमा भएका व्यक्ति हुन् । अरु सबै नयाँ अनुहारले देउवा नेतृत्वको पदाधिकारी ढाकेका छन् ।

 पदाधिकारीमा उपसभापति दुई जनामध्ये खड्का देउवा समूहकै हुन् भने गुरुङ शेखर कोइराला समूहका हुन् ।  त्यस्तै महामन्त्रीहरू थापा शेखर कोइराला समूहका हुन् भने शर्मा प्रकाशमान सिंह समूहका हुन् । 
सहमहामन्त्रीमा जीवन परियार, बद्री पाण्डेबाहेक सबै देउवा समूहकै हुन् ।  

 


  
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x