राजनीति

सुदूरपश्चिममा कित्ता ‘क्लियर' : दाहाल-नेपालतिर ३०, ओलीतिर ६ सांसद्‍

नवराज पनेरु |
पुस १९, २०७७ आइतबार ११:४१ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका ३९ जना नेकपा सांसदमध्ये ३६ जनाले कित्ता ‘क्लियर’ गरेका छन् । ३० जना पुष्‍पकमल दाहाल- माधवकुमार नेपाल पक्षमा खुलेका हुन् भने ६ जना सांसद्‍ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका हुन् ।

नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यले निर्णयमा हस्ताक्षर गरेनन् । ओली पक्षले केन्द्रीय सदस्य बनाएका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भने अझै कित्ता ‘क्लियर’ गरेका छैनन् । उनी अहिले काठमाडौंमा छन् । अन्य दुई जना प्रदेशसभा सदस्य भने सभामुख र उपसभामुख छन् ।


संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध विरोध र दाहाल-नेपाल समूहलाई समर्थन गर्ने गरी तीन वटा निर्णय गरेको छ । उक्त निर्णयको समर्थनमा नेकपाका ३० जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका हुन् भने बैठकमा उपस्थित भएका ६ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेनन् ।

पूर्व मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, महेशदत्त जोशी, नेपालु चौधरी, रतन थापा र ग्याल्बु सिंह बोहराले बैठकको निर्णयमा हस्ताक्षर नगरेका हुन् । नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारा लामा तामाङका अनुसार बैठकले संसद् विघटनको विरोध, पार्टी फुट र विग्रहमा नलाग्न सबै जनप्रतिनिधिलाई आह्वान गर्ने र प्रदेश सरकारलाई थप गतिशील बनाउने निर्णय गरेको जानकारी दिए ।

बैठकले प्रदेश सरकारलाई थप गतिशील बनाउने निर्णय गरेपछि तत्काल प्रदेश सरकारमा फेरवदल हुने सम्भावना पनि घटेर गएको छ । यद्यपी दाहाल-नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई फकाउनका लागि मन्त्रीमण्डल बढाउने तयारी भने भईरहेको छ । बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम रावलको समेत उपस्थिति रहेको थियो । रावलले पनि प्रदेश सरकार कुनै पनि हालतमा फेरबदल नहुने बताए ।

दुई जनालाई कारवाही
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्तलाई कारबाही गरेको छ । दाहाल-नेपाल पक्ष आधिकारिक रहेको दाबी गर्दै आएको सो कमिटीले नैतिक आचरण विपरितका काम गरेका भन्दै दुवै जनालाई ६ महिनाका लागि पदमुक्त गर्ने निर्णय गरेको जानकारी दिईएको छ ।

नेकपा प्रदेश इन्चार्ज भीम रावलले कैलाली जिल्ला अध्यक्ष थापाले पार्टीको हित विपरितका गतिविधि गरेकाले नेकपाको अन्तरिम विधान बमोजिम अध्यक्ष पद्बाट हटाउने निर्णय गरेको बताए । उनका अनुसार प्रदेश कमिटी सदस्य पन्तले पनि आचरण विपरितको कार्य गरेकाले उनलाई पनि कारबाही गरिएको हो । 


Author

थप समाचार
x