राजनीति

सुदूरपश्‍चिमका ७ सांसद ओली समूहमा खुले

नवराज पनेरु |
पुस २२, २०७७ बुधबार १६:१२ बजे

कैलाली : सुदूरपश्‍चिममा प्रधानमन्त्री केपी ओलीको समूहमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिंदै ओली समूहलाई साथ दिएपछि उनको समूहमा लाग्‍ने सांसदको संख्या सात पुगेको हो ।

जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै बोहोराले राजीनामा दिएका हुन् । प्रदेश सरकार फेरबदल हुने सम्भावना कति  छ ? भन्‍ने प्रश्‍नमा बोहराले भने, `अर्को पक्ष (प्रचण्ड-नेपाल) को गुण र दोष हेरेर हामीले नीति बनाउछौ ।´ 


यसअघि भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरेका थिए । उनले ओली समूहलाई साथ दिएको भन्दै बर्खास्त गरिएको थियो । 

ओली समूहलाई प्रदेशसभा सदस्य लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले पनि साथ दिएका छन् । ओली समूहलाई कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन अझै नेकपाका ६ जना प्रदेशसभा सदस्य अपुग देखिएको छ । प्रदेशसभामा ३९ नेकपा, १२ काङ्ग्रेस र २ जसपाका प्रदेशसभा सदस्य छन् ।
 


Author

थप समाचार
x