राजनीति

६ महिनापछि सचिवालयलाई पूर्णता दिँदै देउवा, मन्त्रिपरिषद् पनि विस्तारको तयारी

प्रमुख राजनीतिक सल्लाहकारमा महत र प्रमुख प्रेस सल्लाहकारमा शर्माको चर्चा

सन्तोष अधिकारी |
माघ ३, २०७८ सोमबार १६:१६ बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारको नेतृत्व गरेको ६ महिनापछि प्रधानमन्त्री देउवाले सचिवालयलाई पूर्णता दिने तयारी गरेका हुन् । देउवा सर्वाेच्च अदालतको आदेशअनुसार गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् । 
यसबीचमा देउवाले प्रमुख स्वकीय सचिव भानु देउवा, प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्राध्यापक डाक्टर आरपी विच्छालाई मात्रै नियुक्ति दिएका छन् ।  

बालुवाटार स्रोतका अनुसार देउवाले केही दिनभित्रै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रमुख प्रेस सल्लाहकारलगायतमा नियुक्ति गरेर सचिवालयलाई पूर्ण बनाउने तयारी गरेका छन् । राजनीतिक संयन्त्रको बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतलाई कोभिड संक्रमण देखिएपछि देउवा होम क्वारेन्टिन बसे । यही अवधिमा देउवाले सचिवालयलाई पूर्णता दिन तयारी गरेको बुझिएको छ ।  


देउवानिकटका नेता तथा कांग्रेसका पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतलाई मुख्य राजनीतिक सल्लाहकार बनाउन लागिएको छ । ‘प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महत नै हुने पक्का जस्तै छ,’ बालुवाटार स्रोतले भन्यो । 

महत हालै सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा देउवाकै समूहबाट महामन्त्री पदमा चुनाव लडेर पराजित भएका उम्मेदवार हुन् । आर्थिक मामिला सल्लाहकारमा भने डा.पोषराज पाण्डेको नाम चर्चामा छ । देउवाले परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराईलाई बनाउने सम्भावना रहेको बताइएको छ । त्यस्तै परराष्ट्र मामिलाका जानकारसमेत रहेका गेजा शर्मा वाग्लेलाई प्रमुख प्रेस सल्लाहकार बनाउने तयारी गरेका छन् । अहिले देउवाको प्रेसको कामहरु अनौपचारिक रुपमा गोविन्द परियारले गर्दै आइरहेका छन् ।

परियार यसअघि देउवाको नेतृत्वको सरकार हुँदा प्रेस संयोजक थिए । यसपटक परियारलाई प्रेस संयोजक नै बनाउन लागिएको छ । परियारभन्दा माथिल्लो पदमा शर्मा हुनेछन् । यता नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई भने देउवाले जनसम्पर्क सल्लाहकार बनाउन लागेका छन् । उनले पनि प्रेस संयोजकमा नै आकांक्षा देखाएका थिए । 

त्यस्तै देउवाले पार्टीको प्रवक्ता पनि छिटै तोक्ने तयारी गरेका छन् । कांग्रेसको प्रवक्तामा रमेश लेखकको नाम चर्चामा छ । त्यस्तै देउवाले मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेछन् । देउवाले अहिले उद्योगमन्त्री र रक्षामन्त्री पनि आफैँले सम्हाली रहेका छन् । देउवाले उद्योगमन्त्रीमा प्रधानमन्त्री कार्यालयका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई बनाउने तयारी गरेका छन् । देउवाले श्रेष्ठलाई पार्टीको केन्द्रीय सदस्य जितेको खण्डमा मन्त्री बनाउने बचन दिएका थिए ।  
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x