राजनीति

धनगढी पुगे प्रधानमन्त्री ओली, स्वागत गर्न विमानस्थल गएनन् मुख्यमन्‍त्री

नवराज पनेरु |
पुस २४, २०७७ शुक्रबार १२:५० बजे

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिरको आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । 

स्थानीय प्रशासनको निर्देशन अनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ओलीको सुरक्षाका लागि खटिएका छन् । नेपाल प्रहरीले सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमासमेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए ।


सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ । यस्तै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थलमा पुगेनन् । 

नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकोले स्वागतका लागि मुख्यमन्त्री नपुगेको बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीको स्वागतमा नगएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनले गुटको भेला भएका कारण पनि जानकारी नगराइएको हुन सक्ने बताए ।


Author

थप समाचार
x