राजनीति

चुनावमा लाग्‍न कामचलाउ सरकारका प्रधानमन्त्रीको ‘निर्देशन’

नवराज पनेरु |
पुस २४, २०७७ शुक्रबार १५:४० बजे

धनगढी : कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले वैशाख १७ र २७ गते चुनाव भएरै छाड्ने हुनाले तयारीमा लाग्न आफ्नो समूहका कार्यकर्तालाई ‘निर्देशन’ दिएका छन् ।

प्रतिनिधि सभा अब चुनावबाट ब्यूँतिन्छ भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको अर्काे विकल्प नभएको पनि उल्लेख गरे । निर्वाचन आयोग चुनावको तयारीमा लागेको पनि उनले उल्लेख गरे । ‘अब चुनाबमा लाग्नोस्,’ ओलीको भनाइ थियो ।


धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभा अब पुनःस्थापना हुँदैन, म संविधान पढ्न आग्रह गर्छु ।’ उनले आफू ६४ प्रतिशत बहुमतको नेता भएकाले प्रतिनिधि सभाबाट अर्को सरकार बन्नै नसक्ने दाबी गरे । 

‘केपी ओलीले चुनाव गराउँदैन भनी भनिराख्या छन्,’ ओलीको भनाइ थियो, ‘चुनाव हुन्छ वैशाख १७ र २७ मा ।’

ओलीले भ्रष्टहरुलाई गाउँ गाउँबाट ठेगान लगाउन पनि आग्रह गरे । ‘भ्रष्ट तत्वहरुलाई गाउँ गाउँबाट ठेगान लगाउनोस्,’ ओलीले भने, ‘तिनलाई भोट नहाले पुग्छ ठेगान लगाउन, अरु केही गर्नु पर्दैन ।’

हिजो संसद चल्न दिंदा सरकारका प्रस्ताव अघि बढाउन नदिएको आरोप ओलीको थियो । ‘अब काम गर्न दिने संसद चाहिएको अब ताजा जनादेश चाहिएको छ,’ उनले भने, ‘देशको लागि काम गर्ने संसद चाहिएको छ । मेरो नेतृत्वमा देश विकास बनाउन सकिन्छ भन्ने दाजुभाइ दिदीबहिनीहरुलाई थाहा छ । त्यसकारण मैले तपाईंहरुसँग झूट बोल्नु छैन, मैले गरेर देखाएको छु ।’

 


Author

थप समाचार
x