राजनीति

स्थानीय तहको निर्वाचन

आजसम्म मतदाता नामावली दर्ता गर्नेले मात्रै भोट हाल्न पाउने

७५३ वटा मतपत्र निर्माणको तयारी

सन्तोष अधिकारी |
माघ २४, २०७८ सोमबार १७:५३ बजे

काठमाडौँ – सरकारले आज स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० का लागि घोषणा गरेसँगै निर्वाचन आयोग निर्वाचनतर्फ मोडिएको छ ।   निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सरकारले आज पनि आयोगसँग परामर्श गरेर नै मिति घोषणा गरेको जानकारी दिए ।

‘आज सरकारको तर्फबाट वैशाख ३०मा निर्वाचन गर्न सकिने नसकिने के कसो हुन्छ भनेर आयोगसँग परामर्श भएको थियो,’ थपलियाले इकागजसँग भने, ‘आयोगको तर्फबाट हामीले अहिलेकै अवस्थामा वैशाख ३०मा निर्वाचन गराउन सकिने जानकारी दियौँ । सोहीअनुसार निर्णय भयो ।’     
आज सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आजकै मितिसम्म मतदाता नामावली दर्ता गर्नेहरु मात्रै वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उम्मेदवार र मतदाता बन्न पाउने छन् ।


‘आजसम्म मतदाता नामावली दर्ता गर्नेहरुले मात्रै भोट हाल्न र उम्मेदवार बन्न पाउँछन्,’ थपलियाले भने, ‘भोलिदेखि पनि मतदाता नामावली दर्ता त हुन्छ तर आगामी स्थानीय तहको निर्वाचनमा उनीहरुले मताधिकार र उम्मेदवार बन्ने अधिकार प्रयोग गर्न पाउँदैनन् ।’ 

३५ दिनभित्र मतदाताको अन्तिम नामावली 

वैशाख ३० मा हुने निर्वाचनमा ककस्ले भोट हाल्न पाउने भन्ने एकिन गर्न निर्वाचन आयोगले आजको ३५ दिनभित्र मतदाताको अन्तिम नामावली तयार पार्नेछ । 

‘अब आयोगले भोलि (मंगलबार)देखि नै मतदाताको अन्तिम नामावली उतार्ने काम गर्छ,’ उनले भने, ‘करिब १ करोड ८२ लाख हाराहारी मतदाता होलान् रुजु गर्नुपर्ने छ । यसको लागि १५ दिन जति समय लाग्छ ।’ 

आयोगले तयार पारेको नामावली पनि थप रुजु गर्नका लागि ७५३ वटै स्थानीय तहमा पठाइने छ । ‘अब कसैले मतदाता नामावली पनि एक ठाउँबाट अर्काे सार्न पाउँदैन । निर्वाचनको स्वच्छतालाई लिएर पनि यसो गर्न हुँदैन,’ उनले भने, ‘आयोगले ३५ दिन लगाएर उतारेको नामावली ७५३ वटै स्थानीय तहमा जान्छ । स्थानीय तहले भेरिफाइ गरे पठाउँछ ।’

७५३ वटै मतपत्र 

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै मतपत्र तयार पार्न कसरत गरिरहेको छ । आयोगका प्रमुख आयुक्त थपलियाका अनुसार मतदातालाई सहज हुने गरी छुट्टाछुट्टै मतपत्र तयार पार्न लागिएको हो । ‘मतपत्रको डिजाइनको विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘७५३ वटै किसिमका मतपत्रको डिजाइन हुँदै छ । डिजाइनरहरुले काम गरिरहेका छन् । यस्तो भयो भने मतदातालाई झन्झट हुँदैन ।’ 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x