राजनीति

लिखित जवाफ लिएर सर्वोच्‍च जाँदै चार पूर्वप्रधान न्यायाधीश

इकागज |
फागुन ३, २०७७ सोमबार १०:५८ बजे

काठमाडौँ : चार पूर्वप्रधान न्यायाधीशहरूले आज सर्वोच्‍च अदालतमा लिखित जवाफ पेश गर्ने भएका छन् । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अपहेलना मुद्धामा पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्कीलाई सात दिनभित्र आफै उपस्‍थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएपछि आज उनीहरूले ११ बजेपछि लिखित जवाफ पेश गर्न लागेका हुन् ।

लिखित जवाफमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माको भने अलि छुट्टै जवाफ र अन्य तीन पूर्वप्रधान न्यायाधीशको एकै किसिमको जवाफ रहेको छ । सस्‍तो लोकप्रियताका लागि कलुसित सोचबाट आफुहरूबिरुद्ध रिट दायर भएको पूर्वप्रधान न्यायाधीश शर्माको लिखित जवाफमा उल्‍लेख गरेको स्रोतले इकागजलाई बताएको छ । आफु लोकतान्त्रिक पद्धति र स्वतन्त्र न्यायापालिका लागि ४३ वर्षभन्दा बढी कानुनी क्षेत्रमा पसिना बगाएको पूर्वप्रधान न्यायाधीश शर्माले उल्लेख गरेका छन् । निवेदकले झुटो दाबीसहित रिट दायर गरेकाले खारेज गर्न चार चार पूर्वप्रधान न्यायाधीशले माग गरेका छन् । 


सर्वोच्चमा मुद्दाको सुनुवाइ चलिरहेका बेला चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ती निकालेर प्रतिनिधि सभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरेका थिए । अदालत शब्द समेत उल्लेख नगरी विज्ञप्ति जारी गरेका पूर्वप्रधानन्यायाधीशले अदालतको मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै केहीले आलोचना गरेका थिए ।

अधिवक्ता धनजित बस्नेतले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको भन्दै चार पूर्वप्रधानन्यायाधीशविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । 


Author

थप समाचार
x