राजनीति

राप्रपा नेपाल एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा जान्छ : थापा

इकागज |
चैत २५, २०७८ शुक्रबार १६:२१ बजे

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । 

उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे। उनले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताए।


‘राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ ।’ उनले भने, ‘यस क्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ ।’ नेकपा एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएको उनले बताए । 

अध्यक्ष थापाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे । 
 


Author

थप समाचार
x